सर्लाही सदरमुकाम मलंगवा स्थित बसपार्कमा थन्किएका यात्रुबसहरु । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाही सदरमुकाम मलंगवा निवासी विकाउ राय सार्वजनिक यातायातका चालक हुन् । लकडाउनमा यातायातका साधन नचल्दा घर ब्यवहार चलाउन समस्या परेपछि अहिले उनी तरकारी बेच्न थालेका छन् । सार्वजनिक बसको स्टेरिङमा दुई दशक हात खियाएका राय अहिले तराजुमा तरकारी बेच्न अभ्यस्त बन्न थालेका छन् ।
परिवारको गुजाराकै लागि तरकारी बेच्न थालेको उनले बताए । ‘गुजारा चलाउनकै लागि बजारमा गएर तरकारी बेच्न थालेको छु, बर्षौदेखिको रोजगारी गुमेपछि परिवार पाल्नै प¥यो’, उनले भने, ‘स्टेरिङमा खियाएको हात ढक तराजु समातेर तरकारी बेच्न तराजुमा अभ्यस्त हुँदै छु ।’
सर्लाही सदरमुकाम मलंगवा–९ का शिवजी पटेल सार्वजनिक यातायातका मजदुर हुन् । लामो समयदेखि यातायातका साधन चल्न नसकेपछि उनी अहिले बेरोजगार बनेका छन् । आम्दानीको मुख्य श्रोत नै बन्द भएपछि उनलाई परिवार पाल्न सकस भएको छ । पाँचजना सदस्यको अभिभावक रहेका उनलाई अहिले दुई छाक टार्न पनि हम्मे परेको छ ।
सार्वजनिक यातायात क्षेत्रमा तीस वर्ष बिताएका पटेल लकडाउन अघि यही पेशाबाट कमाएको पैसाबाट परिवारको पालनपोषण गर्दै आएका थिए । तर, कोरोना भइरस र यसको रोकथामका लागि सरकारले चैत ११ गतेबाट सार्वजनिक यातायात चलाउन रोक लगाएपछि उनको आम्दानीको स्रोत गुमेको छ ।
अरु कामको सिप नभएका पटेलले लकडाउनमा घर खर्च चलाउनका लागि नै कर्जा लिनुपरेको दुःखेसो पोखे । ‘लकडाउनले हाम्रो रोजगारी गुमेको छ, अर्को कुनै विकल्प छैन’, उनले भने, ‘साहुको कर्जा ल्याएर जेनतेन गुजारा चलाउँदै छु ।’
कतिपय यातायातका मजदुर अहिले प्लाई उद्योगमा दैनिक तीनसयको दरमा काम गर्न बाध्य छन् । ‘हातमुखै जोर्न आपत परेपछि प्लाई उद्योगमा काम गर्न थालेको छु’, मलंगवा निवासी यातायात क्षेत्रका मजदुर हरी साहले भने, ‘थोरै भएपनि प्लाई उद्योगबाट आएको आम्दानीले छाक टार्न केही सहज भएको छ ।’
झण्डै साँढे पाँच महिना देखि सार्वजनिक यातायात चल्न नस्क्दा सवैभन्दा बढी मार यस क्षेत्रमा काम गर्ने मजदुरले खेपीरहेका छन् । यातायातका साधन नचल्दा हातमुख जोर्नै आपत हुन थालेको मजदुरहरुले बताएका छन् ।
लकडाउन भएको एक महिना बितेपछि मजदुर संगठनले जम्मा पारेको तीन लाख रुपैयाँमा आफ्ना मजदुरहरुलाई राहत बाँडिएको थियो । त्यस वाहेक मजदुरहरुले अहिलेसम्म कतैबाट सहयोग नपाएको मजदुर संगठनका अध्यक्ष सरोज साहले बताए । उनले यातायातका मजदुरहरु मागेर खानुपर्ने अवस्थामा पुगेको जानकारी दिए । ‘बस स्टाफले अरु काम पाउँदैन, काम नपाएर मजदुरहरु मागेर खानु पर्ने अवस्थामा पुगेका छन्’, अध्यक्ष साहले भने, ‘मजदुर कोषमा रहेको रकमले तत्कालै राहत बाँडियो, त्यसपछि हामी कहिँ कतैबाट सहयोग पाउन सकेका छैनौ ।’
यातायात मजदुर मात्र हैन व्यवसायी पनि लकडाउनले निकै मारमा परेका छन् । २०७६ चैत १० गतेबाट थन्क्याएको सार्वजनिक यात्रुबसहरुमा अचेल घिरौंला, लौकाका लहरा झ्याम्मिएका छन् । टायर फुटेर धुजा धुजा भईसकेको छ । नवलपुरका यातायात व्यवसायी दिपक श्रेष्ठ लामो समयदेखि सवारी साधन थन्किएका कारण व्यवसायिहरु उठ्नै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।
अनुमति नदिएपनि सर्लाहीमा यात्रु ओसारपसार गर्ने साना किसिमका सवारी साधन सञ्चालन गर्न थालिएको छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले भदौ २२ गतेदेखि निषेधाज्ञा हटाउँदै यातायातका साधन भने तत्काल सञ्चालन नगर्ने निर्णय गरेको थियो ।
तर एक महिनादेखिको निषेधाज्ञाले कामै नगरी बस्दा परिवारको गुजारा चलाउन र गाडीको किस्ता बुझाउन समस्या भएको भन्दै साना सवारी व्यवसायीले साना सवारी चलाउन थालेका हुन् । सर्लाहीमा पूर्व–पश्चिम राजमार्गसहित भित्री सडकमा जीप, टेम्पु, म्याजिक लगायतका सवारी साधन केही दिनदेखि निर्वाध रुपमा चलिरहेका छन् । मयुरी, डाँफे जस्ता ईरिक्सा, अटो त मुख्य चोक बजारमा निर्वाध चलिरहेका छन् । साना खाले गाडी चल्न थालेसँगै लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलङ्गवा जस्ता मूख्य बजारमा मानिसको चहलपहल बढेको छ ।
जिल्लामा लामो दूरीमा चल्ने बसहरु भने सञ्चालनमा आएका छैनन् । सदरमुकाम मलंगवाबाट वीरगन्ज, जनकपुर लगायत विभिन्न शहर तथा सर्लाहीकै ग्रामीण भेगसम्म जाने बसहरु मलंगवा बसपार्कमै थन्काएर राखिएको छ । सरकार तथा बस व्यवसायीहरुको राष्ट्रिय महासंघको निर्णय अनुसार अघि बढिने सर्लाही बस व्यवसायी संघका अध्यक्ष शिवशंकर यादवले बताएका छन् । उनका अनुसार सदरमुकाम मलंगवाबाट चल्ने एक सय भन्दा बढी बसहरु अहिले थन्काएर राखिएको छ । बसमा कार्यरत तीन सय बढी मजदुर बेरोजगार भई बसेका अध्यक्ष यादवले जानकारी दिए । महिनौँसम्म थन्काएर राख्दा घाम, पानीले बसका विभिन्न पाटपूर्जा काम नलाग्ने अवस्थामा पुगेको बस व्यवसायीहरुले गुनासो गरेका छन् ।