0-4064x3074-0-0#
संग्रामपुर, १६ असोज – पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिका-१, सङ्ग्रामपुर खण्डमा सडक अत्यन्त खराब बनेको छ ।
सडकमा ठुल्ठुला खाल्टाखुल्टी हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन् । कालोपत्रे उप्किएर सडकमा धुलो उड्दा गाउँलेसमेत प्रभावित हुनुपरेको छ ।
पर्सा गाउँपालिका-१ का वडाध्यक्ष सतेन्द्र रायले हुलाकी सडकको सङ्ग्रामपुरदेखि हर्दीखोलासम्मको भाग असाध्य खराब बनेको जानकारी दिए । सडक निर्माणका लागि सडक आयोजना कार्यालयलाई बारम्बार घच्घच्याउने काम गरे पनि सुनुवाई नभएको वडाध्यक्ष रायको भनाइ छ ।
सडकमा बनेका ठुल्ठुला खाल्टोमा परेर मोटरसाइकल र अन्य साना सवारीसाधन अनियन्त्रित भइ बारम्बार दुर्घटना भइरहेका वडाध्यक्ष रायले बताए । उनले भने, “अरु ठाउँमा त सडक ठीकै छ तर सङ्ग्रामपुरमा खाल्टैखाल्टो हुँदा बारम्बार दुर्घटना भइरहन्छ ।”
हर्दीखोला पारी महोत्तरी खण्डको सडक तुलनात्मक रुपमा गुणस्तरीय बनेको तर सर्लाहीतर्फ भने हुलाकी राजमार्ग कमजोर बनेको गुनासो स्थानीयले गर्दै आइरहेका छन् । महोत्तरीभन्दा पछि बनेको सर्लाहीखण्डको हुलाकी सडकमा यात्रा गर्दा गाडी थथर्किएर हैरान हुने गरेको यात्रु तथा सवारी चालकको गुनासो छ ।
त्यसमा पनि सङ्ग्रामपुर क्षेत्रको राजमार्ग लामो समयदेखि खाल्टाखुल्टीमा परिणत हुँदा पनि निर्माणमा बेवास्ता गरिएको गुनासो बढेको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रञ्जितकुमा रायले सङ्ग्रामपुर खण्डको सडकमा अन्तिम चरणको कालोपत्रे हुनै बाँकी रहेको जानकारी दिए ।
सङ्ग्रामपुरमा पहिलो चरणको कालोपत्रे उप्किएर खाल्टाखुल्टी बनेको इन्जिनियर रायको भनाइ छ । उनले भने, “एककिलोमिटर जति सडकमा फस्ट कोर्टको मात्र काम भएको छ, सेकेण्ड कोटको काम भएपछि समस्या समाधान भइहाल्छ ।”
दोस्रो चरणको कालोपत्रेका लागि निर्माण कम्पनिलाई ताकिता गरिरहेको इन्जिनियर रायले बताए । उनका अनुसार सडक कालोपत्रेका लागि हिम्डुङ एण्ड ठोकर/हीरा एण्ड नमिता जेभीले ठेक्का सकार गरेको छ ।
हुलाकी राजमार्ग कालोपत्रे भएपछि सर्लाहीको दक्षिणी भेगका स्थानीयले जलेश्वर, जनकपुरसम्म आउजाउ गर्न यही सडक प्रयोग गर्ने गरेका छन् । सङ्ग्रामपुर खण्डमा भने सडक बिग्रिएर दुःख पाइएको यात्रु तथा चालकहरुको गुनासो छ ।