हरिवन, ०४ पुस – सर्लाहीमा गएरातीबाट शितलहरसहित हुस्सु कुहिरो लागेको छ ।
जाडो मौसम सूरु भएपनि पुस लाग्दासमेत शितलहर नचलेको र हुस्सु कुहिरो नलाग्दा अचम्मित बनेका सर्बसाधारणले गएरातीबाट चिसो महसुस गरेका छन् । अहिले बिहानको मौसम हेर्दा दिनभर शितलहरसहित हुस्सु कुहिरो लाग्ने सम्भावना देखिन्छ ।
हिजोसम्म बिहानैबाट पारिलो घाम लाग्ने गरेकाले सामान्य कपडामै हिडडुल गरेका सर्वसाधारणलाई आजभने न्यानोयुक्त बाक्लो लुगा लगाउनुपर्ने बाध्यता आइलागेको छ । शितलहरसहित हुस्सु कुहिरो लाग्दा चिसोपन बढेको छ । चिसो बढेपछि जनजिवन प्रभावित बनेको छ । शितलहरसहितको चिसो बढेपछि स्थानीयहरु आगो तापेर बस्न थालेका छन् ।
हरेक जाडोयाममा सर्लाहीसहित तराई मधेश क्षेत्रमा निकै दिनसम्म पनि शितलहर चलेर घाम नदेखिने हुँदा चिसोको कहर हुने गरेको छ । चिसोकै कारण पर्याप्त न्यानो लुगा लगाउन नसक्ने सर्बसाधारणको ज्यान समेत जाने गरेको छ ।
चिसोबाट बच्नका लागि तातो झोलिलो खाने र न्यानोयुक्त कपडा लगाउन तथा अत्यावश्यक काम बाहेक बाहिरफेर हिँडडुल नगर्न आम सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।