लालबन्दी, ०१ साउन – धमाधम स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–पथलैया खण्डमा पहिलो ‘ओभर पास’ निर्माणको काम सुरु गरिएको छ ।
सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा ‘ओभर पास’ बनाउने काम अघि बढेको हो । उक्त ‘ओभर पास’ मा ठूला सवारी साधन माथिबाट र स्थानीय स्तरमा चल्ने सवारी साधन र पैदल यात्रीलाई तलबाट ओहोरदोहोर गर्ने व्यवस्था मिलाइने कमला–ढल्केबर–पथलैया सडक योजना पूर्वी खण्डले जनाएको छ ।
उक्त आयोजनाका प्रमुख छविलाल पौडेलले विभिन्न जिल्लाका मुख्य बजार क्षेत्रमा ‘ओभर पास’ निर्माण गरिने जानकारी दिए । मानिस तथा सवारी साधनको धेरै नै आवतजावत हुने भएकाले जाम कम गर्न विभिन्न बजार क्षेत्रमा ‘ओभर पास’ निर्माण हुने आयोजना प्रमुख पौडेलको भनाइ छ । उनका अनुसार सर्लाहीमा मात्रै लालबन्दीसहित नवलपुर, हरिवन र नयाँरोड गरी चार स्थानमा काठमाडौंको ग्वार्कोमा झैँ ‘ओभर पास’ निर्माण हुने छ ।
अहिले धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्म धमाधम काम भइरहेकोमा लालबन्दीमै पहिलो ‘ओभर पास’ निर्माणको काम थालिएको हो । लालबन्दीमा बनाउन सुरु गरिएको ‘ओभर पास’ मा तत्काल फाउण्डेसनसम्मको काम गरिने र बाँकी काम वर्षायाम सकिएपछि मात्रै हुने आयोजना प्रमुख पौडेलको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गको कमला–पथलैया खण्डको १३० किमी सडकमध्ये अहिले कमला नदीदेखि बागमती नदीसम्म मात्रै काम भइरहेको छ । बागमती नदीदेखि पथलैयासम्म (रौतहट र बारा) खण्डको काम अघि बढ्न सकेको छैन् । कमला–बागमती खण्डमा तीनवटा निर्माण व्यवसायीले ठेक्का पाएर काम गरिरहेका छन् ।
पुस १७ गतेदेखि काम सुरु गरिएकोमा अहिलेसम्म करिव १० प्रतिसतको हाराहारीमा काम भएको आयोजना प्रमुख पौडेलले जानकारी दिए । सुरुमा कर्मचारी तथा मजदुरलाई बस्नका लागि क्याम्प बनाउने, सरसामग्री जुटाउनेलगायत काममै बढी समय खर्चिनु परेकाले अहिलेसम्म करिव चार महिनामात्रै काम हुन पाएको पौडेलको भनाइ छ ।
पूर्वपश्चिम राजमार्ग विस्तारका लागि कमला–पथलैया खण्डको १३० किलोमिटर सडक दायाँबायाँका रुख व्यवस्थापनका लागि बल्ल स्वीकृति प्राप्त भएकाले अब सडक विस्तारको कामले अझ गति लिने अपेक्षा गरिएको छ । अहिलेसम्म सर्लाही, महोत्तरी र धनुषा तीनवटै जिल्लामा दायाँबायाँका रुख छाडेरै सडक विस्तारको काम चलिरहेको थियो ।