मलंगवा, २७ असार – सर्लाहीका विभिन्न ५ वटा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विष्णु, रामनगर, ब्रम्हपुरी, धनकौल र बसबरिया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो । विष्णु गाउँपालिकामा मुकेशकुमार मिश्र, रामनगर गाउँपालिकामा लालबाबु यादव, ब्रम्हपुरी गाउँपालिकामा मोहनकृष्णप्रसाद सेठ, धनकौल गाउँपालिकामा नरेन्द्र यादव र बसबरिया गाउँपालिकामा बृजनन्दन प्रसाद साहलाई खटाइएको हो ।
उनीहरु पाँचै जना भर्खरै शाखा अधिकृत पास गरेर तालिम सकेका कर्मचारी हुन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको ५ वटै गाउँपालिकामा अहिले स्वास्थ्य तथा शिक्षा शाखाका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।
स्थानीय तहमा प्रायः आफू निकटका जुनसुकै शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गराउने परिपाटी छ ।
नगरपालिकामा उप–सचिव तथा गाउँपालिकामा शाखा अधिकृत स्तरका कर्मचारीलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाए पनि मेयर तथा अध्यक्षले हाजिर हुनै नदिने परपाटी ब्याप्त छ । त्यसो हुँदा सर्लाहीसहित मधेशका विभिन्न जिल्लामा खटाइएका उपसचिव र शाखा अधिकृत आफैले पनि सरुवा भएको ठाउँमा आउन अस्वीकार गर्ने गरेका छन् ।
राजनीतिक किचलो रहेको पालिकामा पनि नयाँ प्रमखु प्रशासकीय अधिकृत आउनै इन्कार गर्ने गरेका छन् ।