कविलासी, ०७ असार – सर्लाहीको कविलासी नगरपालिकामा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ ।
कविलासी चोकमा निर्माण गरिएको सुविधा सम्पन्न दुई तले २८ कोठे नगरपालिका कार्यालयको भवन औपचारिक रुपमा उद्घाटन भएको हो । भवनको नगरप्रमुख ब्रह्मदेव राय र उपप्रमुख पुनम कर्णले संयुक्त रुपमा उद्घाटन गरेका नगरपालिका कार्यालयले जनाएको छ ।
१ करोड २५ लाख रुपियाँ खर्चिएर नगरपालिकाको प्रशासनिक भवन तयार पारिएको प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतोले उज्यालो अभियानसँग बताए । कार्यालय प्रमुख महतोका अनुसार अब क्रमिकः रुपमा नगरपालिकाको विभिन्न शाखा हुँदै पूरै नगरपालिकाको प्रशासनिक कामकाज नै नवनिर्मित भवनबाटै संचालन हुने छ ।
आज औपचारिक उद्घाटन भए पनि अहिले आर्थिक वर्षको अन्तिममा योजना तथा कार्यक्रम संचालनकै चटारोले गर्दा सबै सरसामग्री सार्न भ्याउने अवस्था नरहेकाले साउनबाट भने सम्पूर्ण शाखासहित नगरपालिकाको सेवा नयाँ भवनबाट प्रवाह हुने प्रमुख प्रशासकीय अधिकृत महतोले बताए ।