कौडेना गाउँपालिकाको कार्यालय ।
कौडेना, ०४ असार – सर्लाहीका स्थानीय तह अहिले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको तयारीमा ब्यस्त छन् ।
पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याएर मसान्तसम्म बजेटसहित पारित गरिसक्नुपर्ने व्यवस्था छ । सोही अनुसार जिल्लाको दक्षिणी भेगस्थित कौडेना गाउँपालिकाले आज आफ्नो गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. सोनेलाल साहले आज मध्यान्ह गाउँपालिकाकै सभा हलमा आयोजित १४ औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने जाकारी दिए ।
मुलुकभरमै सबैभन्दा बढी २० स्थानीय तह रहेको सर्लाहीमा अन्य पालिका पनि नीति तथा कार्यक्रम बनाउन मै ब्यस्त छन् ।
गाउँ, बस्तीमा भेला गरेर नीति तथा कार्यक्रम बनाउनुपर्ने भएपनि जनप्रतिनिधिले आफू निकटका मानिस राखेर आफ्नै ढंगले बजेट बनाउने गरेको गुनासो जताततै सुन्ने गरिएको छ ।