हरिवन, ०१ असार – सर्लाहीमा अहिले पूर्व पश्चिम राजमार्ग निर्माणको काम जारी छ ।
विशेष गरी सडक दायाँबायाँ माटो भर्ने र लच्का अर्थात् कज्वे रहेका ठाउँमा कल्भर्ड हाल्ने काम भइरहेको देखिन्छ । हरिवन नगरपालिका ४ तीनघरेमा कल्भर्ड हालिरहेको ठाउँमा बनाइएको डाइभर्सनमा आज दिनभरजसो पटक–पटक सवारीको जाम लागेको छ ।
बिहान त ट्राफिक प्रहरी नै बसेर सवारी साधनलाई वारवार गराउनुपर्यो । माथितिरबाटै पानी बगेर आएकाले राम्रोसँग निकास हुन नपाउँदा बिहानभर तीनघरेको डाइभर्सनमा समस्या भएपनि अहिले अवस्था सामान्य बनिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिवन ११ स्थित सम्राट होटल अगाडिको पूर्व पश्चिम राजमार्गको कज्वेमा सानो पानी पर्ने बित्तिकै पानी जमेर साना सवारी साधन छेउबाट पार हुने गरेका छन् ।
ठूलो पानी परेका बेला बागवानी लच्का, तिनघरे लच्का र हरिवन लच्कामा समस्या आउने गर्छ । अहिले ति तिनै ठाउँमा सडक ४ लेनको बनाउँदा कल्भर्ड हालिने प्राविधिकले जनाएका छन् ।