logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेपाली सेनासहितका सुरक्षाकर्मीद्वारा बाँध मर्मत


  • उज्यालो अभियान

कौडेना, ०१ असार – सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैयामा आज बिहान लखन्देखी खोलामा पानीको बहाव बढेर बाँध कटान गरेको छ ।

पहाडी भेगमा बिहान भएको भारी वर्षापछि लखन्देही खोलामा बाढी आएको स्थानीयले बताएका छन् । बाढी बढेर कटान गरेको बाँध तत्कालका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी भएर अस्थायीरुपमा मर्मतको काम गरेका हुन् ।

उक्त बाँध फुटेमा कौडेना गाउँपालिका–५, छपकैया र मलंगवा नगरपालिका–६, खुटौना गाउँ डुबानमा पर्ने जोखिम रहेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाको कालिध्वज गणका २५ जनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मिलेर बाँधको रोकथाम गर्ने काम गरेको कालिध्वज गणका गणपति एवं प्रमुख सेनानी गोबिन्द विष्टले बताए ।

जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय मलंगवाले तटबन्ध कस्ने कामका लागि सुरक्षाकर्मीलाई विभिन्न सामग्री उपलब्ध गराएको थियो ।

छपकैयामा वर्षेनि बाढी आएर कटान तथा डुबानको व्यापक समस्या हुने गरेको छ । पहाडी भेगमा परेको पानीमै आएको बाढीमा बाँध कटान गर्न सुरु गरेकाले अब ठूलो पानी पर्नासाथ थप समस्या उत्पन्न हुने भन्दै स्थानीय त्रसित बनेका छन् ।

आज बिहान पहाडी क्षेत्रमा परेको पानीले पानीको बहाव बढेको बागमती र लखन्देखी खोलामा दिउँसोबाट क्रमिकरुपमा पानीको सतक कम हुँदै गएको छ ।