logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अनसनरत् सिंह अस्पताल भर्ना


  • उज्यालो अभियान

बरहथवा, ३१ जेठ – सर्लाहीको बरहथवामा विभिन्न पाँच बुँदे माग राखेर तीन दिनदेखि आमरण अनसनमा बस्नुभएका राजन सिंह अस्पताल भर्ना भएका छन् ।

जनमत पार्टीको बरहथवा नगर कमिटीका अध्यक्ष्य रहेका सिंह जेठ २९ गतेदेखि नगरपालिका कार्यालय अगाडि आमरण अनसनमा बसेका छन् । अत्यधिक गर्मीमा स्वास्थ्य अवस्था खराब बन्दै गएपछि सिंह आज बिहान नगर अस्पताल बरहथवामा भर्ना भएका हुन् ।

उनी डेढ वर्षअघि बरहथवामा गोली लागेर मृत्यु भएका जयशङ्कर साहको सालिक निर्माणसहित विभिन्न पाँच बुँदे माग राखेर आमरण अनसनमा बसेका हुन् । बरहथवा नगरपालिका ६ का अन्दाजी ३० वर्षीय जयशङ्करको २०८० पुस २० गते प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको विषयलाई लिएर भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर जयशङ्करको मृत्यु भएपछि केही दिन अवस्था तनावग्रस्त बनेको थियो । जयशङ्करको मृत्युपछि त्यसबेला जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमती कार्यान्वयन नभएको भन्दै जनमत पार्टीका नगर अध्यक्ष सिंहले आमरण अनसन सुरु गरेका हुन् ।

सिंहले जयशङ्करको सालिक निर्माण र जयशङ्करकै नामबाट बरहथवा नगर अस्पतालको नामाङ्करण गर्नुपर्ने माग राखेका छन् । यस्तै बरहथवा नगर अस्पतालबाट सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउन, बरहथवा नगरपालिकाको तीन वर्षको आय–व्यय विवरणसहित सार्वजनिक गर्न र नगर अस्पताल निर्माण गर्न निकास गरिएको बजेटको खर्चको अवस्था सार्वजनिक गर्न समेत माग राखेका छन् ।

बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले हिजो अनसनस्थलमा पुगेर माग सम्वोधन गर्ने मौखिक प्रतिवद्धता जनाए पनि सिंहले अनसन तोड्न अस्वीकार गरेका छन् ।