लालबन्दी – नेपाली कांग्रेसका नेता डा. अमरेश सिंहले सर्लाही क्षेत्र नं. ४ बाट भोली जुनसुकै हालमा उम्मेदवारी दिने बताएका छन् ।
सिंह यो क्षेत्रको निवर्तमान सांसद समेत हुन् । सत्ता गठवन्धनमा यो क्षेत्र कांग्रेसको भागमा परेको छ । तर, कांग्रेसले अहिलेसम्म यहाँबाट कसैलाई पनि टिकट दिइसकेको छैन् ।
शनिबार साँझ फेसबुकमार्फत आफ्नो जन्मथलो र कर्मथलो क्षेत्र नं. ४ नै भएको र त्यहीँबाट चुनाव लड्ने घोषणा गरेका सिंहले उज्यालो अभियानसँगको कुराकानीमा पनि पार्टीले अन्तिममा आफूलाई नै टिकट दिने विश्वास व्यक्त गरे । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले क्षेत्र नं. ४ बाट उम्मेदवार टुंगिन बाँकी नै रहेको बताए ।
संस्थापन पक्षका जिल्ला सभापति सिंहसहितका नेताहरु अमरेशलाई ‘आउट’ गर्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई यस क्षेत्रमा ल्याएर चुनाव लडाउन चाहान्छन् ।
कांग्रेसको बलियो आधार क्षेत्र मानिने क्षेत्र नं. ४ मा पछिल्लो समय संस्थापन र संस्थापन इतर समूहको टकराबले पार्टी कमजोर बनेको भन्दै कार्यकर्ताले चिन्ता व्यक्त गरिरहेका छन् ।