logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाही १ बाट मैले नै टिकट पाउने निश्चित छ : शम्भुलाल श्रेष्ठ


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठले सत्ता गठवन्धनको तर्फबाट सर्लाही क्षेत्र नं. १ मा आफूले नै टिकट पाउने निश्चित जस्तै रहेको बताएका छन् ।

शनिबार साँझ उज्यालो अभियानसँग कुरा गर्दै श्रेष्ठले १ नम्वर क्षेत्रबाट आफूले टिकट पाउनेमा ढुक्क रहेको बताएका हुन् । उनले संघतर्फ क्षेत्र नं. १ मा लोसपाले दावी नगरेको पनि बताए ।

लोसपाले प्रदेशमा भने बढी सिट खोजिरहेकाले क्षेत्र नं. १ बारे संघ तथा प्रदेश दुवैतर्फ निर्णय हुन केही ढिलाई भइरहेको नेता श्रेष्ठको भनाई छ । श्रेष्ठले क्षेत्र नं. १ मा लोसपाको चर्चित उम्मेदवार समेत नरहेकाले टिकट आफूले पाउने तर्क गरेका छन् ।

एमाले–जसपा गठवन्धनका उम्मेदवार प्रमोद साहले पनि शनिबार साँझ उज्यालोसँगकै कुराकानीमा आफूले पाएको जानकारी अनुसार कांग्रेसका शम्भुलाल श्रेष्ठ नै आफ्ना प्रतिस्पर्धी हुने बताए । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले पनि उज्यालोसँग कुरा गर्दै क्षेत्र नं. १ बाट पार्टीका नेता श्रेष्ठले टिकट पाउने सम्भावना बढ्दै गएको बताएका छन् ।

सत्तागठवन्धनमा अहिलेसम्मको सहमती अनुसार क्षेत्र नं. १ खाली राखि क्षेत्र नं. २ र ३ माओवादी तथा क्षेत्र नं. ४ कांग्रेसले लिएको छ । माओवादीले आफ्नो भागमा परेको क्षेत्र नं. २ बाट निवर्तमान सांसद तथा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र ३ बाट नरेन्द्रप्रसाद साहलाई उम्मेदवार बनाउँदै छ । कांग्रेसले आफ्नो भागमा परेको क्षेत्र नं. ४ मा उम्मेदवार छानिसकेको छैन् ।