logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

गृहमन्त्री खाँड वुधवार सर्लाही आउने


  • उज्यालो अभियान

मलंगवा – गृहमन्त्री बालकृष्ण खाँड आगामी वुधवार सर्लाही आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको भवन शिलान्यास गर्न गृहमन्त्री खाँड कात्तिक ३ गते वुधवार सर्लाही आउने कार्यक्रम तय भएको हो । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माण गर्न ९ करोड ४० लाख रुपैयाँमा ठेक्का लागिसकेको छ ।

वुधवार भवन शिलान्यास गर्न आउने गृहमन्त्री खाँडले जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । उनले शिलान्यासपश्चात भवनको निर्माण कार्य अघि बढ्ने बताए ।

गृहमन्त्री आउने भएपछि आइतवार जिल्लाका सुरक्षा अधिकारीहरुले कार्यक्रमको तयारीबारे छलफल समेत गरेका छन् ।

यसैबीच, आफ्ना नेता समेत रहेका गृहमन्त्री खाँड जिल्ला आउँदा नेपाली कांग्रेस सर्लाहीले कार्यकर्तासँग भेटघाट गराउने भएको छ । जिल्ला प्रशासन कार्यालयको भवन शिलान्यास र कार्यालय प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम सकिएपश्चात सदरमुकाम मलंगवास्थित कुसुम पार्टी प्यालेसमा कार्यकर्तासँग भेटघाट कार्यक्रम राखिएको कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले बताए ।

काठमाण्डौंबाट जनकपुरसम्म जहाजमा आउने गृहमन्त्री खाँड त्यहाँबाट गाडीमा सर्लाही आउने बताइएको छ ।