सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – प्रमुख पर्व दशैँलाई लक्षित गरी सर्लाही प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
सर्लाहीका प्रहरी प्रमुख (एसपी) सन्तोष सिंह राठौरले अरु समयमा भन्दा अहिले दशैँको बेला सम्भावित परिस्थितिलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको जनाए । यो समयमा झै–झगडा, चोरी, लुटपाट जस्ता आपराधिक घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी प्रमुख राठौरले उज्यालो अभियानसँग बताएका छन् ।
प्रहरीले जिल्लाका मुख्य बजार, सडक सबैतिर गस्ती बढाएको छ । जिल्ला प्रहरी कार्यालय र त्यसमातहतका सबै प्रहरी युनिटहरुलाई ‘हाइ अलर्ट’ अवस्थामा राखिएको एसपी राठौरले सुनाए ।
जिल्ला प्रहरी कार्यालयले चाडबाडलाई सामाजिक सद्भाव कायम गर्दै शान्तिपूर्ण किसिमले मनाउन जिल्लावासीसँग आग्रह समेत गरेको छ । दशैँको बहानामा मदिरा सेवन गरेर हो–हल्ला तथा झै–झगडा गर्ने, अर्को पक्ष वा समूहलाई अवरोध गर्ने, जुवा खेल्ने जस्ता कार्य हुने भएकाले त्यस्ता गतिविधिमा संलग्न जो कोही व्यक्तिलाई नियन्त्रणमा लिएर कानून बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले पनि दशैँलाई लक्षित गरी सुरक्षा तैनाथी बढाएको छ । सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गंगाराम श्रेष्ठले सीमा क्षेत्रसँगै जिल्लाभर आपराधिक घटना हुन नदिन र पटकाजन्य पदार्थसहित अन्य सरसामग्रीको तस्करी हुन नदिन गस्ती बढाइएको बताए ।