logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरिपुरमा असोज २२ बाट राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन हुने


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान संचालन गर्न सोमवार अभिमुखीकरण प्रदान गरिएको छ ।

यही असोज २२ गतेदेखि विवरण संकलन कार्य सुरु गर्न सोमवार नगरभित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतलाई नगरपालिका कार्यालयमा जम्मा पारेर अभिमुखिकरण प्रदान गरिएको हो । सहभागीहरुले राष्ट्रिय परिचय पत्र र नागरिकताका सम्वन्धमा राखेका जिज्ञाशाहरुको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले प्रष्ट पारेका हरिपुर नगरपालिकाकी एमआइएस अपरेटर प्रितिन्जला थापाले जानकारी दिईन् ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न हरिपुरका ९ वटा वडामा दुई÷दुई वटाका दरले १८ वटा स्टेशन राखिने बताइएको छ । अभिमुखीकरणमा नगर प्रमुख जमिरुदिन मन्सुर, प्रमुख जिल्ला अधिकारी महतो, उपप्रमुख रेणुका काफ्ले, सर्लाही प्रहरीका प्रमुख (एसपी) सन्तोष सिंह राठौर, सशस्त्र प्रहरीका प्रमुख (एसपी) गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक दीलिप सिंह, हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार दास, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, वडा सचिव र अन्य कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

सर्लाहीमा १४ औँ पालिकाका रुपमा हरिपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन कार्य सुरु हुन लागेको हो । मतदाता संख्याको ७० प्रतिसत नागरिकको परिचय पत्रका लागि विवरण संकलन गर्ने लक्ष्य रहेपनि केही दिनअघिकै तथ्यांकमा ६९ प्रतिसत विवरण संकलन भइसकेको प्रमुख जिल्ला अधिकारी महतोले उज्यालो अभिायानसँग बताएका छन् ।

सर्लाहीमा अहिले हरिपूर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, पर्सा गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकामा विवरण संकलनको काम चलिरहेको छ ।