logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रेल्वे ट्रयाकले निकास रोक्दा बागमतीको काजिराम टोल डुबानमा


  • उज्यालो अभियान

बागमती – निरन्तरको वर्षापछि सर्लाहीको बागमती नगरपालिका–१२, कर्मैया काजिराम टोल डुबानमा परेको छ ।

निर्माणाधीन रेल्वे ट्रयाकका कारण वर्षाको पानी निकास नहुँदा काजिराम टोल पूर्णरुपमा डुबानमा परेको हो । बस्ती भन्दा अग्लो पारेर रेल्वे ट्रयाक निर्माण गरिएपछि केही वर्षदेखि त्यस ठाउँमा डुबानको समस्या देखिँदै आएको छ ।

यो पटक पनि केही दिनदेखि परिरहेको पानीले आफूहरुको गाउँ पूर्णरुपमा डुबानमा परेको स्थानीय राजकुमार कुशवारले जानकारी दिए । डुबानका कारण २÷३ वटा गोठ लड्नुका साथै केही पशुचौपाय पनि मरेको स्थानीयवासीले बताएका छन् ।

अरिवल वर्षाले सर्लाहीमा पानीको निकास नरहेका अन्य विभिन्न स्थानका बस्तीहरु पनि डुबानमा परेका हाम्रा संवाददाताहरुले जनाएका छन् । अहिलेको वर्षाले किसानहरु सबै भन्दा बढी प्रभावित भएका छन् ।

काटेर सुकाएर धान तीन दिनदेखि परिरहेको पानीले भिजेको छ भने काट्न बाँकी धान समेत ढलेर क्षति पुगेको छ । तरकारी बालीमा पनि ठूलै नोक्सान पुगेको छ ।

पशुपालक किसानदेखि ज्याला मजदुरी गरेर खाने परिवारलाई पनि वर्षाले पिरोलेको छ । यहाँका हाटबजार र भित्री सडकहरु अहिले हिँड्नै नमिल्ने गरी जलमग्न भएका छन् ।