logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

इमान्दारिताको नमूना ! जसले बाटोमा भेट्टाएको ५० हजार फिर्ता गरिन


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी बजारमा एक युवतीले बाटोमा भेट्टाएको ५० हजार नगद सम्वन्धित व्यक्तिलाई नै फिर्ता दिएकी छन् ।

ईश्वरपुर नगरपालिका–१२, घारिबथान दोङखोरिया घरभई हाल जनज्योति माध्यमिक विद्यालय लालबन्दीको प्लटूमा अध्ययरत २० वर्षीया मनिषा वाईबाले भेट्टाएको पैसा प्रहरीको रोहबरमा सम्वन्धित व्यक्तिलाई नै फिर्ता गरेकी हुन् । लालबन्दी नगरपालिका–८, बस्ने रन्जना कुमारी लोको सोमवार दिउँसो साँढे २ बजेतिर लालबन्दी–७, बजारस्थित जानकी माध्यमिक विद्यालय अगाडिबाट ५० हजार रुपैयाँ हराएको थियो ।

उक्त रकम कम्प्यूटर कक्षा गरेर फर्किदै गर्नुभएकी मनिषाले फेला पारेकी थिईन् । मनिषाले सो रकम ईलाका प्रहरी कार्यालय लालबन्दीमा लगेर बुझाईन् । त्यसपछि प्रहरीले मंगलवार रकम फेला पार्ने र रकम हराउने दुवैजनालाई बोलाएर सम्वन्धित व्यक्तिलाई रकम दिएर पठाएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले उज्यालो अभियानसँग बताए ।

युवतीले अहिलेको समयमा पनि इमान्दारिकताको नमूना प्रस्तुत गरेर प्रशंसनीय काम गरेको प्रहरी निरीक्षक थापाले बताएका छन् । मनिषाले बाटोमा झरेको पैसा टिप्नासाथ अर्कै एक जना पुरुषले सो पैसा आफ्नो रहेको बताएका थिए । तर मनिषाले तत्कालै ती व्यक्तिलाई पैसा दिईनन् ।

पछि प्रहरीमा लगेर पैसा बुझाउँदा पैसा माग्ने ती व्यक्तिको पैसा नभई रन्जना कुमारी लोको रहेको खुलेको छ । रकम हराउने व्यक्ति र प्रहरी दुवैले इमान्दारिता प्रस्तुत गरेको भन्दै मनिषाप्रति धन्यवाद् ज्ञापन गरेका छन् ।