मलंगवा – जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठकले सर्लाहीका ८ वटा नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरेको छ ।
आइतवार दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका ८ वटा नाकाहरुबाट आवतजावत गर्न दिने निर्णय गरेको हो । बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाका खुलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।
उनले प्रत्येक नाकामा स्थानीय पालिकाहरुमार्फत हेल्थ डेक्स स्थापना गर्ने र स्वास्थ्य कार्यालयमार्फत एन्टिजेन परीक्षण गर्ने निर्णय भएको बताए । नेपालको तर्फबाट नाका खुलाउने निर्णय भएको र यसका लागि भारतीय तर्फ पनि समन्वय गर्न आफूले पहल गरेको उनको भनाई छ ।
‘नेपालको तर्फबाट मात्रै नाका खोलेर हुँदैन, भारततर्फबाट पनि खुल्ला गरेपछि मात्रै सहज आवतजावत हुन सक्छ,’ प्रजिअ महतोले आइतवार साँझ उज्यालो अभियानसँगको कुराकानीमा भने, ‘यसबारेमा मैले भर्खरै सीतामढी जिल्लाका जिल्ला अधिकारीसँग सम्पर्क गर्ने प्रयास गरेको थिएँ, उहाँको सहयोगीले फोन उठाउनुभयो, पुनः सम्पर्कको प्रयास गरिरहेको छु ।’
गएको मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल–भारत सीमा नाका खुलाउने निर्णय गरेको थियो । तर आजसम्म नाका खुलेको छैन् । कोरोना संक्रमणका कारण २०७६ साल चैतदेखि नै नेपाल–भारत सीमा नाका बन्द गरिएको छ ।
मुख्य नाकाहरुमा ढाट तेर्साइएकाले सीमा क्षेत्रका वासिन्दा खोला खोल्सी तथा खेतबारीको बाटोबाट नेपाल–भारत आवतजावत गरिरहेका छन् ।