मलंगवा – नेपाल–भारत सीमा नाका खुला गर्न गरिएको मन्त्रीपरिषद् निर्णयको कार्यान्वयनको माग गर्दै सर्लाहीका कांगे्रसी नेताहरुले आइतवार गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरेका छन् ।
भेटमा गृह मन्त्रालयबाट स्थानीय प्रशासनलाई परिपत्र गर्दै नाका अविलम्ब खुलाइदिन आग्रह गरिएको हो । जवाफमा गृहमन्त्री खाँडले स्थानीय प्रशासनलाई तत्काल परिपत्र गर्ने भनेर अश्वासन दिएका छन् ।
झण्डै दुई वर्षदेखि कोरोना संक्रमणको कारण देखाउँदै पूर्णरुपमा बन्द गरिएको नाका अझैसम्म नखुल्दा नागरिकले सास्ती खेपीरहेको भन्दै सर्लाहीका कांग्रेसीहरु आइतवार गृहमन्त्री भेटन पुगेका हुन् ।
सर्लाही कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय, प्रदेश सभा सदस्य एवं प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंह, अर्का प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, केन्द्रिय सदस्य जंगिलाल राय, नेता कौशल सिंह लगायतको टोली नाका खुलाउन भनेर गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।