बुधबार सदरमुकाम मलंगवामा अनेरास्ववियू अन्तर्गत नेकपा ओली समूह सम्बद्ध विद्यार्थीहरुको भेलामा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)


मलंगवा – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष प्रधानमन्त्री केपी ओलीको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् विघटन गरेपछि नेकपा भित्र देखिएको चरम विवाद अन्तर्गत सर्लाहीमा पनि कार्बाहीको श्रृंखला सूरु भएको छ । बुधबार नेकपा केपी ओली समूहले विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटीको भेला राखेर संगठनका संयोजकलाई हटाईएको जनाएको छ । मुलुकका विभिन्न स्थानमा पार्टी एवं भातृ संगठनहरुमा कार्बाहीको श्रृंखला अनवरत चलिरहेको भएपनि सर्लाहीमा भने एक समूहले अर्को समूहलाई पदबाट हटाएको यो नै पहिलो पटक हो ।


सदरमुकाम मलंगवा स्थित बालमन्दिरको सभाहलमा भएको भेलाले तत्कालिन सह–संयोजक समिम खानलाई अनेरास्ववियू सर्लाहीको जिल्ला कार्यसमिति संयोजकमा चयन गर्दै जिल्ला कार्यसमिति पुनर्गठन गरेको बताईएको छ । मलंगवामा भएको विद्यार्थी नेताहरुको बृहद् भेलाले अनेरास्ववियू सर्लाहीका संयोजक विवेक मैनालीलाई हटाएर संगठनको नयाँ संयोजकमा खानलाई चयन गर्दै जिल्ला कार्यसमिति समेत पुनर्गठन गरिएको बुधबारको भेलाबाट सह–संयोजकमा चयन भएका प्रज्वल ढुंगानाले जानकारी दिए ।

नेकपा एमाले र माओवादी एकता केन्द्रबीच एकता भएपश्चात बनेको नेकपाको सर्लाहीमा विद्यार्थी संगठन मर्ज हुँदा तत्कालिन माओवादी सम्बद्ध विद्यार्थी संगठनबाट विवेक मैनाली संयोजक एवं एमाले सम्बद्ध विद्यार्थी संगठनबाट खान सह–संयोजक भएका थिए ।
भेलाले अनेरास्ववियूको जिल्ला सह–संयोजकमा प्रज्वल ढुंगाना सहित कार्यालय सदस्यहरुमा आशिष बाबु दाहाल, युवराज आचार्य, रोशन दाहाल, मोहित खड्का, गान्दिप बराल, रजत प्रधान, पवन सिंह, सरोज राउत, सन्दिप थापा र युवराज यादवलाई चयन गरेको छ । त्यस्तै जिल्ला सदस्यहरुमा इश्वरी लामिछाने, मनिषा खड्का, सन्देश अधिकारी, दिलबहादुर फुयाँल, विवेक महत, चक्र लामा, दामोदर सापकोटा र विनोद दवाडीलाई चयन गरेको बताईएको छ ।
अनेरास्ववियू स्थायी कमिटी सदस्य उमेश आचार्यको अध्यक्षता रहेको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मण्डलको सदस्यहरुमा विद्यार्थी नेताहरु अञ्जना शिवाकोटी, उज्वल कार्की, सरोजबाबु न्यौपाने, सुदिप चालिसे, सदिक्षा चौहान, शिवहरि गौतम र श्रीकृष्ण उप्रेती रहेका थिए । सोही अध्यक्ष मण्डलले नयाँ नेतृत्व चयन गरेको हो ।
त्यसअघि उद्घाटन समारोहमा भने नेकपा ओली समूहका हरिवन नगरपालिकाका मेयर समेत रहेका गणेशप्रसाद प्रसाईं, केन्द्रीय सदस्य राजनारायण साह लगायत विभिन्न नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य झपिन्द्र कुमार खत्रीको प्रमुख आतिथ्यतामा भएको हो ।
नेकपा प्रचण्ड–नेपाल–खनाल समूहले भने बुधबार मलंगवामा अनेरास्ववियूको भेला गरेर नयाँ नेतृत्व चयन गरिनु कुनै हिसाबले पनि विधिसम्मत नरहेको दाबी गरेको छ । यसअघि सर्लाहीमा दुवै पक्षले आ–आफ्ना गुटको भेला गर्ने तथा कतिपय स्थानीय तहहरुमा जन परिचालन समिति एवं संघर्ष समिति गठन गर्ने काम मात्र गरेका थिए । तर ओली समूहले बुधबारबाट कार्बाही श्रृंखला सूरु गरेको छ ।