मलंगवा, २२ असोज – सीमापारी भारतको बिहार राज्य सोनवर्षा बजारमा आज दिउँसो टिपरमा मोटरसाइकल ठोक्किँदा सर्लाहीका एक युवकसहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मलङ्गवा नगरपालिका–१०, निवासी दीपेन्द्र राउतका छोरा १९ वर्षीय अजय राउत र अजयकै आफन्त भारत खुरसाहा बस्ने १९ वर्षीय सचिन राउतको मृत्यु भएको हो । सोनवर्षा बजारमा राउत द्वय सवार मधेश प्रदेश ०२–००८ प ९९४२ नम्वरको मोटरसाइकल बीआर ०८ जिबी ६७१५ नम्वरको टिपरमा गएर ठोक्किँदा दुवैको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी दिएको छ ।
चालक र टिपर सोनवर्षा थानामा भारतीय प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । मृतक एक जना नेपाली युवक रहे पनि घटना भारतीय भूमिमा रहेकाले आवश्यक कानूनी प्रक्रिया, पोष्टमार्टमलगायत सबै प्रक्रिया भारतमै हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।