लालबन्दी, ०८ असोज – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा आज दिउँसो रात्रि बस र ट्रक ठोक्किँदा सात जना घाइते भएका छन् ।
बाँके जङ्गलस्थित ईश्वरपुर नगरपालिका–१३, मा काठमाडौंबाट विराटनगरका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ६३०६ नम्वरको रात्रि बस र महोत्तरीको बर्दिवासबाट चामल बोकेर भैरहवातर्फ हिँडेको ना ६ ख २९२८ नम्वरको ट्रक आपसमा ठोक्किएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले उज्यालो अभियानसँग बताए ।
दुर्घटनामा मोरङको विराटनगर महानगरपालिका–४, बस्ने २९ वर्षीया सविक्षा राई, मोरङको रङ्गेली नगरपालिका–९, बस्ने ४० वर्षीया लालकुमारी श्रेष्ठ, उनकी छोरी १५ वर्षीया युनिष्का राउत, विराटनगर महानगरपालिका–३, बस्ने ३९ वर्षीया सविता रेग्मी, उनकी छोरी आठ वर्षीया प्रिसा भट्टराई, भारतको बिहार कटैया पन्चायत वडा नं. ३ दरभङ्गा घर भइ काठमाडौं त्रिपुरेश्वर बस्ने रामशरण मण्डल र मोरङको सुन्दरहरैचा नगरपालिका–९, बस्ने ५२ वर्षीया लोकबहादुर विक घाइते भएका छन् ।
घाइते एक जनाको लालबन्दी र छ जनाको बर्दिवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको रात्रि बस मुग्लिन–नारायणगढ सडकमा तीन दिन जाममा परेर आज बल्ल छुटेर विराटनगरतर्फ गइरहेका बेला ट्रकसँग ठोक्किएको हो ।
बसमा ३९ जना यात्रु सवार रहेका थिए । आपसमा ठोक्किएपछि ट्रक र बस आ–आफ्नो साइडमा पल्टिएका छन् ।
आज दिउँसो पौने ३ बजेतिर पानी परिरहेका बेला दुर्घटना भएपछि राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर घाइतेको उद्धार गरेका थिए ।
दुर्घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बसका यात्रुहरुको सरसामग्री प्रहरी चौकी फूलजोरमा ल्याएर राखिएको र यात्रु तथा उनीहरुको आफन्त सम्पर्कमा आएर धमाधम आ–आफ्नो सरसामग्री बुझेर लगिरहेका जानकारी दिए ।
इन्स्पेक्टर जोहारीले उज्यालो अभियानलाई बताए अनुसार दुर्घटनामा परेका दुबै सवारी साधन घटनास्थलमै रहेका छन् ।
बसका चालक र यात्रु घाइते भए पनि ट्रक र ट्रकका कर्मचारी सकुसल रहेका इन्स्पेक्टर जोहारीले बताउनुभयो ।