आफैलाई टाेकेकाे गाेमन सर्प ज्युँदै बाेकेर उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा आएका रामइश्वर राय । (तस्बिर : सामाजिक संजाल)
मलंगवा, १५ भदौ – प्रादेशिक अस्पताल मलङ्गवामा एक जना सर्पदंशका बिरामी ज्यूँदै सर्प बोकेर उपचारका लागि आइपुगेका छन् ।
यसरी बिरामी स्वयं आफूलाई सर्पले डसेको भनी ज्यूँदै सर्प बोकेर उपचार गर्न आएको घटना पहिलो रहेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । जिल्लाको सीमावर्ती विष्णु गाउँपालिकास्थित सीमरा फेन्हरा गाउँका ४० वर्षीय रामइश्वर राय ज्यूँदो गोमन सर्प बोकेर उपचारका लागि सदरमुकाम मलङ्गवाको प्रादेशिक अस्पतालमा आइपुगेका हुन् ।
हिजो मध्यान्ह पौने १२ बजे अस्पताल आएका रायलाई करिव पाँच घण्टा उपचारपछि साँझ डिस्चार्ज गरिएको अस्पतालका हेल्थ असिस्टेन्ट शङ्करकुमार पटेलले उज्यालो अभियानसँग बताए । पटेलका अनुसार रायलाई गोमन सर्पले डसेपनि विष छाड्न नपाएकाले सामान्य औषधि उपचार र पाँच घण्टा निगरानीमा राखेर घर पठाइएको हो ।
राय गाउँमै सर्प समाउन जाँदा डसेपछि परिवारको साथ लागेर उपचारका लागि अस्पताल आइपुगेका थिए ।
आफूलाई टोकेको सर्प बोकेरै निर्धक्कसँग फटाफट हिँडेर अस्पताल आएका रायलाई हेर्नका लागि केहीबेर मानिसको भिड लागेको थियो । अस्पताल प्रशासनका अनुसार राय उपचारपछि पनि सर्प बोकेरै घर फर्किएका छन् ।