बागमती, ११ भदौ – सर्लाहीको बागमतीमा आज बिहान करेन्ट लागेर गम्भीर घाइते भएका एक वृद्धलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
बागमती नगरपालिका–१, मिलनचोक गुम्बा टोलका ६८ वर्षीय छलबहादुर राना मगर करेन्ट लागेर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मगरलाई घर नजिक सामुदायिक भवनमा हिजो तीजका लागि नाचगान गर्न छतमा लगेर जडान गरिएको माइक निकाल्न जाँदा हाइटेन्सन लाइनबाट करेन्ट लागेको थियो ।
सामुदायिक भवनको छतबाट भेट्ने ठाउँमा रहेको हाइटेन्सन लाइनमा माइकले छुँदा रानाको शरीरमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि कैलाश एयरको हेलिकप्टर मगाएर कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए ।
अस्पतालले घाइते रानाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी गराएको इन्स्पेक्टर अधिकारीले बताए ।
मकवानपुर र काठमाडौंको मौसम खराब हुँदा मगाएको तीन घण्टा ढिलोगरी हेलिकप्टर आइपुगेको बागमतीका स्थानीय गोकर्ण रुपाखेतीले बताएका छन् ।