नारायणखोलाको ट्रष्ट पुल निर्माणका लागि बनाइएका अलपत्र रहेका संरचना र नजिकै तत्काललाई आवतजावत गर्न बनाइएको फलामे पुल । (तस्बीर : उज्यालो अभियान)
पत्थरकोट, १० भदौ – सर्लाहीको लालबन्दी नगरपालिका १३ र १४ को सीमामा पर्ने नारायण खोलामा पुल निर्माण कार्य अलपत्र पर्दा जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने नारायणखोलाका स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।
बजेट अभावका कारण नारायण खोलाको ट्रष्ट पुल निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माणका लागि २०७९ चैत १६ गते समता कन्ट्रक्सन÷सप्लायर्स प्रा.लि. विर्तामोड–३, झापासँग छ करोड ८१ लाख ८६८ रुपियाँ ९१ पैसामा दुई वर्षभित्र काम सक्नुपर्ने सम्झौता भएको थियो ।
सङ्घीय समानिकरण अनुदान अन्तर्गत पुल निर्माणका लागि पहिलो वर्ष एक करोड ५० लाख रुपियाँ मात्रै निकासा भएको थियो । त्यसपछि बजेट नै आउन छाड्यो । पहिलो वर्ष निर्माण व्यवसायीले ८६ लाख ९० हजार रुपियाँ बराबरको मात्रै काम गर्दा ६३ लाख १० हजार रुपियाँ बजेत फिर्ता गएको थियो ।
सङ्घबाट पहिलो वर्ष एक पटक प्राप्त बजेट र नगरले विनियोजन गरेको रकमसहित निर्माण व्यवसायीले अहिलेसम्म दुई करोड ३६ लाख ९० हजार रुपियाँ निकासा लिएका नगरपालिका कार्यालयले जनाएको छ । अधुरो अवस्थामा रहेको नारायण खोलाको पुल निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा एक करोड ६१ लाख रुपियाँ सङ्घीय समानिकरण अनुदान प्राप्त भएको लालबन्दी नगरपालिका कार्यालयले जनाएको छ ।
त्यस्तै नगरपालिकाबाट एक करोड ६२ लाख रुपियाँ विनियोजन गरिएको छ । लालबन्दी नगरपालिकाका इन्जिनियर रोशनकुमार पण्डितका अनुसार नारायण खोलामा ट्रष्ट पुल निर्माणको काम ४० प्रतिसत पुरा भएको छ ।
निर्माण व्यवसायीले ट्रष्ट पुल र पुलको दुवैतर्फ सय/सय मिटर पहुँच सडक (एपरोच रोड) निर्माण गर्ने गरी सम्झौता भएको इन्जिनियर पण्डितले जानकारी दिए । नगर कार्यपालिकाको बैठकले निर्माण व्यवसायीलाई पुल निर्माणका लागि आगामी पुस मसान्तसम्मको म्याद थप गरेको छ ।
यसअघि बजेट नभएर काम रोकिनपुगेकोमा यो पटक पालिका र सङ्घ सरकारले आवश्यक बजेट बिनियोजन गरेकाले पुल निर्माण कार्य पुरा हुने अपेक्षा गरिएको छ । इन्जिनियर पण्डितले भने, “ठेकेदारले पैसा नपाएर काम रोकेको भनिरहेका छन् । यो पटक आवश्यक बजेट बिनियोजन भएको छ ।”
इन्जिनियर पण्डितका अनुसार पुलमा फलाम राखेर आरसिसी ढलान गर्न र एपरोच रोड बनाउन बाँकी छ । ठेकेदारले पुलको लागि आवश्यक पर्ने फलामका सामग्री बनाउन ‘अर्डर’ बताइरहेका इन्जिनियर पण्डितले बताए ।
लालबन्दी नगरपालिकाले वडा नं. १४ नारायणखोलासम्म सडक पु¥याउन वडा नं. १३ स्थित पत्थरकोट छेडा गाउँदेखि नारायण खोलाको साबिक गाविस कार्यालय रहेको मोटरदोभान नजिक सानो काप्लेसम्म ट्रयाक सडक पुर्याएको छ । यो वर्ष मोटरदोभानसम्म नै सडकको ट्रयाक पु¥याउने गरी बजेटको व्यवस्था गरिएको लालबन्दी १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले बताए ।
नारायण खोलामा पुल निर्माण पुरा नहुँदा अहिले पत्थरकोटदेखि नै पैदल हिँडेर जानुपर्ने अवस्था रहेको वडाध्यक्ष घिसिङको गुनासो छ । पत्थरकोटदेखि खनिएको ट्रयाक सडक निरन्तरको वर्षापछि ठाउँठाउँमा माटो बग्ने र भास्सिने भएर खराब रहेको स्थानीयले जानकारी दिएका छन् ।
वडाध्यक्ष घिसिङले गाडी सञ्चालन हुनै नपाएर सडक झन खराब बनेको बताए । “नारायण खोलामा पुल बन्दिएको भए जसरी पनि सडक मर्मत गरिरहनुपथ्र्यो तर गाडी नै चलाउन नपाएपछि सडक मर्मत गर्नुको अर्थ पनि छैन्,” वडाध्यक्ष घिसिङले भने, “यदि पुल बन्दिएको भए त नारायण खोलाको आधाउधी भाग भेट्ने मोटरदोभानसम्म भएपनि गाडी लैजान सकिन्थ्यो ।”
नारायण खोलामा हिउँदको समयमा लखन्देही र डाइनी खोलाको बगरबाट मोटरसाइकल, बोलेरो र बस सञ्चालन हुने गरेका छन् । अहिले वर्षायाममा सवारी साधन संचालन हुन सकेका छैनन् ।
खोलामा बाढी घटेको दिन स्थानीयहरु ट्याक्टरमा जोखिमपूर्ण हिसाबले लालबन्दी बजार आउजाउ गर्ने गरेका छन् । बाढी आएको दिन स्थानीय नगरपालिकाले निकालेको ट्रयाक सडकमा पैदल हिँडेर मोटरदोभानसम्म आउजाउ गर्ने गरेका छन् ।
लालबन्दी १३ र १४ को सीमामा पर्ने नारायण खोलामा ट्रष्ट पुल निर्माण भइरहेको ठाउँमा खोला पार गर्न सानो फलामे पुल हालिएको छ । नारायण खोलास्थित हात्तीसुँढे वीरबहादुर लो तामाङले बाढी आएको दिन खोलाबाट हिँड्न नसकिने र नगरपालिकाले खनेको ट्रयाक सडकसमेत खराब हुँदा समस्या पर्ने गरेको बताए ।
वर्षौदेखि सडकको समस्याले पिरोलिरहेको तामाङको भनाइ छ । “विकट ठाउँमा बसिरहेका हामीलाई बाटो कै समस्या छ,” उनले भने “त्यही एक ठाउँमा मात्रै भए पनि पुल बन्दिए आधा बाटो केही सहज हुन्थ्यो ।”
आफूहरुको वडा सडक सन्जालमा जोडिन नसक्दा वर्षायाममा दैनिक उपभोग्य वस्तु खरिद गर्न र औषधि उपचारका लागि लालबन्दी बजार आउन असाध्य समस्या रहेको स्थानीयले गुनासो गरेका छन् । खोलामा बाढी आएको समयमा वडा कार्यालय वा स्वास्थ्य संस्थामा आउनुपर्दा तीन घण्टा बढी पैदल हिँड्नुपर्ने बाध्यता रहेको नारायण खोलाका स्थानीयले बताएका छन् । उज्यालो अभियान)