logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरिपुर्वा घटना : अभियुक्त धीरुको कोठाबाट पेस्तोल बरामद भएको प्रहरीको दावी


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

हरिपुर्वा, ०३ भदौ – सर्लाहीको हरिपुर्वाका रामपुकार यादवको गोली हानी हत्या गरिएको घटनामा प्रहरीले अभियुक्तको कोठाबाट हतियार बरामद भएको दावी गरेको छ ।

जिल्लाको दक्षिण–पूर्वी ग्रामीण भेगस्थित हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकारको गएको शुक्रबार घरमा बसिरहेका बेला गोली प्रहार गरी हत्या भएको थियो । कन्चटमा गोली प्रहार हुँदा गम्भीर घाइते भएका रामपुकारलाई उपचारका लागि महोत्तरीको सोनामा गाउँपालिकास्थित एक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले रामपुकारको हत्यामा संलग्न रहेका हरिपूर्वा नगरपालिका–५, का २६ वर्षीय धीरु भन्ने धीरेन्द्र रायलाई नियन्त्रणमा लिएको छ । रामपुकारलाई गोली प्रहार गरेर भाग्दै गरेका व्यक्तिहरु हरिपूर्वाकै बसन्तपुर क्षेत्रमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

प्रहरीले घटनास्थलबाट बीआर ३० एजी २३५४ नम्वरको भारतीय मोटरसाइकल र घाइते अवस्थामा धीरेन्द्रलाई फेला पारेको थियो । जनकपुरमा उपचारपछि धीरेन्द्रलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा ल्याएर राखिएको छ ।

धीरेन्द्र प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् । उनले २०८१ असोज ९ गते राति गोली प्रहार गरी श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका थिए । त्यसबेला गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादव घाइते भएका थिए ।

उक्त घटनादेखि फरार रहेका धीरेन्द्रले नै रामपुकारको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो । स्रोतका अनुसार रामपुकारलाई गोली प्रहार गर्ने ‘मुख्य सुटर’ धीरेन्द्र नै हुन् ।

सर्लाही प्रहरीले धीरेन्द्रलाई मलंगवा ल्याएर बयान लिँदा मलंगवा नगरपालिका ९ स्थित सुशील साहको घरमा आफू कोठा भाडा लिएर बस्ने गरेको र सो कोठामा गएर खानतलासी लिँदा एक थान नलकटुवा पेस्तोल र फायर भइसकेको एक थान गोलीको खोका बरामद भएको प्रहरीले दावी गरेको हो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले घटनास्थल अर्थात् रामपुकारलाई गोली प्रहार गरिएको ठाउँबाट पनि एक थान फायर भइसकेको गोलीको खोका बरामद भएको दावी गरेका छन् ।

लागुऔषध सेवनकर्ता (ड्रगिष्ट) छोरासँगको विवादका कारण रामपुकारमाथि गोली प्रहार हुन पुगेको पाइएको छ । छोरासँगको विवाद फरार रहेका व्यक्तिसँग भएको तर गोली प्रहार गर्ने सुटरको रुपमा धीरेन्द्रलाई प्रयोग गरेको स्रोतले जनाएको छ ।

डिएसपी राईले धिरेन्द्रविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले फरार रहेका अर्का व्यक्तिको पनि खोजी भइरहेको बताएको छ ।

फरार रहेका व्यक्ति केहीवर्ष अघि भारतबाट आएर हरिपूर्वामै घर बनाएर बस्दै आएको बुझिएको छ । फरार रहेका व्यक्तिसमेत भारतमा आफ्नै आमाको हत्यामा संलग्न रहेको स्रोतले जनाएको छ ।

प्रहरीले फरार रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।