logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

मधेश सुक्खा रहेन अब, रातभर वर्षा


  • उज्यालो अभियान

लालबन्दी, १८ साउन – गएराति रातभर नै वर्षा हुँदा सर्लाहीसहित मधेशका किसान खुसी भएका छन् ।

मधेश अब सुक्खा रहेन । राति सर्लाहीमा सबैजसो ठाउँमा पानी परेको हाम्रा संवाददाताले जनाएका छन् । आज पनि सिमसिम पानी पर्ने र रोकिनेक्रम जारी छ । थप वर्षा हुन सक्ने गरी मौसम धुम्मिएको छ ।
लामो समयपछि पर्याप्त वर्षा हुँदा किसान खुसी देखिन्छन् । रोपिसकेको धान खेतमा मनग्यसँग पानी जमेको छ ।

रोपाइँ हुन बाँकी रहेको खेतमा पनि पानी जमेकाले धमाधम रोपाइँ भइरहेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले रातिको पानीले निकै ठूलो काम गरेको जानकारी दिए । उनले मौसम अनुकूल बन्दा अब लगभग सबैतिर रोपाइँ हुने अवस्था आएको उज्यालो अभियानसँग बताए ।

पानी परेर मौसम चिस्सिएकाले सर्लाहीसहित तराई मधेशमा आज गर्मी निकै कम छ । पानी पर्दा खोला बाढी आएर चुरेभेगमा पुल नरहेका र कच्ची बाटो रहेको क्षेत्रमा आउजाउ गर्न भने समस्या परेको स्थानीयले गुनासो गरेका छन् ।

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्दा तराई–मधेसमा हल्कादेखि मध्यम वर्षा मापन भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पानी पार्ने प्रणाली, मनसुनको न्यूनचापीय रेखा अहिले नेपालतर्फ छ । यो लामो समयसम्म भारततर्फ रहेको थियो । त्यसैले मधेस प्रदेश सुख्खा भएको थियो ।

्‌पछिल्लो २४ घन्टामा प्रायः सबै केन्द्रमा वर्षा मापन भएको छ । सप्तरीको बरमझियामा ९१.८, सिराहामा ९९.४, लाहानमा ७७.२, धनुषाको हर्दिनाथमा ४७, धनुषाको चिसापानीमा ६८.२, सिराहाको गोलबजारमा ५२.२, महोत्तरीको गौशालामा ५७.६, धनुषाको तुलसीमा ४७.६, सर्लाहीमा ४८ मिलिमिटर वर्षा भएको छ ।

बारा, पर्सा, रौतहटमा भने हल्का मात्रै वर्षा भएको छ ।