logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

चुरेमा पानी भण्डारण गर्न सके मधेशमा यस्तो अवस्था आउँदैन् : पूर्व प्रधानमन्त्री नेपाल


  • उज्यालो अभियान

परवानीपुर, १७ साउन – पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मधेशलाई बचाउन चुरेमा जलसन्चय र भण्डारण गर्नुपर्ने बताएका छन् ।

लालबन्दी नगरपालिका–१५, परवानीपुर बोहोरेडाँडामा आज मधेश प्रदेशस्तरीय पुष्पलाल स्मृति भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले वर्षा हुँदा अनावश्यक बगेर गइरहेको पानीलाई चुरेमै भण्डारण गर्न सक्नुपर्नेमा जोड दिएका हुन् । “यहाँ परेको पानी हामीले चुरेमै सन्चय गरेर साख्न सकेको भए तुरुन्तै बगेर समुन्द्रसम्म पुग्ने थिएन,” उनले भने “यस्ता कुरामा सरकारले गम्भीर भएर योजना बनाउन आवश्यक छ ।”

तत्काल मधेशका नागरिकको जीवन बचाउने र सिँचाईको प्रवन्ध मिलाउने कुरामा ध्यान दिन उहाँले सरकारसँग आग्रह गरेका छन् । आफू आज कोशी प्रदेशको विराटनगरबाट उदयपुर, सिन्धुलीहुँदै सुक्खाग्रस्त मधेश प्रदेशको महोत्तरी र सर्लाहीसम्म आउँदै गर्दा बाटो भरी पानी परेको देखेर खुसी लागेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले सुक्खाग्रस्त मधेशलाई आगामी दिनमा यस्ता समस्या आउन नदिन स्थानीय, प्रदेश र संघ सरकारले तुरुन्त योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए ।

चुरेक्षेत्रमा पोखरी निर्माण गरेर ‘वार्टर रिचार्ज’ को प्रवन्ध गर्न सकिने पूर्व प्रधानमन्त्री नेपालको सुझाव छ । उनले आफू प्रधानमन्त्री हुँदा नै राष्ट्रपति चुरे संरक्षण योजना अघि सारेको उल्लेख गर्दै सप्तकोशीको पानी सप्तरी, सिरहा, धनुषा, महोत्तरी हुँदै सर्लाहीको बागमती नदीमा ल्याएर खसाल्ने योजना भने अघि नबढेको गुनासो व्यक्त गरेका छन् ।

अहिले सप्तकोशीको पानी १५ प्रतिसत मात्रै डाइभर्ट गरेर सिँचाईमा प्रयोग भइरहेको अवस्थामा सप्तकोशीको पानीलाई बागमतीसम्म ल्याउन सके मधेशमा सिँचाईका लागि अहिलेको जस्तो समस्या नआउने उनले दावी गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालले बोहोरेडाँडामा आफू आएर उद्घाटन गरेको पुष्पलाल स्मृति भवनमा पुष्पलालसँगै गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, तुल्सीलाल अमात्य, निर्मल लामा र मधेशका जिल्लामा किसान आन्दोलनमा सहादत प्राप्त गरेका सहीदहरुको समेत शालिक निर्माण गर्न सुझाव दिएका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले आज नै हरिपुर नगरपालिका–७, चिताइनमा पक्की छठघाटको उद्घाटन गरेका छन् ।

बोहेरोडाँडामा निर्मित पुष्पलाल स्मृति भवन र चिताइनमा निर्मित छठघाट मधेश प्रदेशका प्रदेश सभा सदस्य बेची लुंगेलीको निर्वाचन विकास कार्यक्रमको बजेटबाट निर्माण गरिएको हो ।