logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

घर लडेपछि कर्मा सिङ परिवारको बास खुला आकाशमा


  • उज्यालो अभियान

लडेको घर अनि कर्मा सिङ दम्पति । (तस्बिर : उज्यालो अभियान)

हरिवन, ०८ साउन – भएको एउटा फुस्को घरपनि लडेपछि हरिवन नगरपालिका–४, गेला स्थित एक परिवार खुला आकाशमुनी बास बसिरहेका छन् ।

कर्मा सिंह दम्पतिसँगै वडाध्यक्षत्रय । (तस्बिर : उज्यालो अभियान)

भएको एउटा फुस्को घरपनि गर्यामगुरुम लडेपछि बोल्न समेत कम जान्ने (लठेब्रो बोली) कर्मा सिङ स्याङतान र शान्तिमाया गोलेको परिवार ३ दिनदेखि खुला आकाशमुनीको बास बस्न बाध्य भएका हुन् । ३ छोरी र एक छोरा रहेका कर्मा सिङ दम्पतिको घर गत सोमबार राती ११ बजे छानासहित भुईंमा लडेको हो ।

जेठी छोरी काठमाडौंस्थित एक होटलमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेकी छिन् भने अन्य २ छोरी र १ छोरा सहित कर्माको परिवार ज्याला मजदुरी गरेर गेलामा रहेका छन् । टालीले छाएको सानो टहरोपनि लडेपछि उनिहरुको अहिले विचल्ली भएको हरिवन नगरपालिका–४ का वडाध्यक्ष केशबराज थापाले जानकारी दिए । ‘एउटा सानो बाकस र थोत्रा लुगाफाटा पनि घरभित्रै पुरिएको छ’, शान्तिमायाले उज्यालो अभियानसँग भनिन्, ‘पैसापनि छैन, अब घर कसरी उठाउने र बनाउने होला ?’

कर्मा सिङको घर पुनर्निर्माणका लागि हरिवन–४ का वडाध्यक्ष थापा सहित वडा नं. २ का वडाध्यक्ष अर्जुन योञ्जन र ३ का वडाध्यक्ष दिपमान लामाले सकृयता देखाएका छन् । विहिबार बिहान ३ जना वडाध्यक्षले कर्मा सिङको लडेको घर निरिक्षण गर्नुका साथै दाताहरुबाट सहयोग जुटाएर सानो घर निर्माण गरिदिने प्रतिबद्धता जनाए । उनिहरुको प्रतिबद्धता सुनेपछि कर्मा सिङ र शान्तिमायाको दम्पति सहित स्थानीय बासिन्दाहरु अत्यन्त उत्साहित बनेका छन् ।

‘स्थानीय सहयोगि दाताहरु, जिल्ला तथा बाहिर रहनुभएका दानविर महानुभावहरुसँग सहयोग मागेर उहाँहरुको घर बनाउन हामी तीनैजना वडाध्यक्षहरु लाग्ने छौं’, वडा नं. ४ का वडाध्यक्ष थापाले उज्यालो अभियानसँग भने, ‘तत्काल पालिका वा अन्य निकायको बजेट उपलब्ध गराउन नसकिने भएकाले दाताहरुसँगै सहयोग मागेर उहाँहरुको घर पुनर्निर्माण गर्ने अभियान सूरु गरेका छौं, सम्पूर्णमा यथाशक्य सहयोग गर्न समेत आग्रह गर्दछु ।’

यता वडा नं. २ का वडाध्यक्ष योञ्जन र ३ का वडाध्यक्ष लामाले पनि सहयोग जुटाउन आफूहरुपनि लाग्ने बताए । ‘हाम्रो वडा नपरेपनि मानवीय हिसाबले उहाँहरुलाई घरबास गराउन स–सानो सहयोग जुटाउन हामीपनि सकृय रुपले लागिपर्छौं ।’ वडाध्यक्षद्वय योञ्जन र लामाको भनाई थियो ।