मलंगवा, २९ असार – चर्को गर्मीमा अनियमित विद्युत कटौतिका कारण हैरान भएको भन्दै मलंगवामा आज दिउँसो युवाले प्राधिकरण घेराउ गरेका छन् ।
युवाका अगुवा चन्दनकुमार सिंहले गर्मीले खपिनसक्नु भएको समयमा घण्टौँसम्म बिजुली काटिने समस्याबाट आजित भइरहेको गुनासो पोखेका छन् । वितरण केन्द्र अगाडि नाराबाजी र टायर बालेर प्रदर्शन गरेपछि आन्दोलित युवाले वितरण केन्द्र प्रमुख इन्जिनियर उमेशप्रसाद यादवलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
अत्यधिक गर्मीले गर्दा पंखा नचलाए एकैछिन पनि बस्न नसक्ने अवस्था रहेको तर प्राधिकरणले अनेक बहाना गरेर बत्ती काट्न नछाडेको स्थानीय गुनासो गर्छन् । वितरण केन्द्रका प्रमुख इन्जिनियर यादवले भने गर्मीमा अत्यधिक तापक्रम र अधिक भारले गर्दा बेलाबेलामा बत्ती कटौति हुने गरेको दावी गरेका छन् ।