logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

भरत तालमा मोटरबोट चालकलाई उद्धारको अभ्यास


  • उज्यालो अभियान

बागमती, २९ असार – सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा मोटरबोट सञ्चालन गर्ने चालकलाई विपद्को समयमा गरिने उद्धार अभ्यास गराइएको छ ।

सशस्त्र प्रहरी बल नेपालले जिल्लाको प्रमुख पर्यटकीयस्थलको रुपमा विकास भइरहेको भरत तालमा व्यावसायिक किसिमले बोट चलाउने चालकलाई आज उद्धार अभ्यास गराएको हो । तालमा दिनहुँ बोट चढ्नेको भीड लाग्ने गरेको छ । उक्त भीडमा जोखिमपूर्ण किसिमले बोट सञ्चालन गरिरहेका बोट चालक र अन्य कर्मचारीलाई सुरक्षित हिसाबले बोट चलाउन र यदि दुर्घटनामा परेको खण्डमा के–कसरी उद्धारको काम गर्ने भनी सिकाइएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले जानकारी दिए ।

सशस्त्र प्रहरीका एसपी चन्दका अनुसार सशस्त्र प्रहरीको बाढी तथा डुबानको समयमा परिचालन हुने तालिम प्राप्त गोताखोरको उपस्थितिमा मोटरबोट चालक र सँगै खटिने अन्य कर्मचारीलाई उद्धार अभ्यास गराइएको हो ।

सर्लाही तथा आसपासका जिल्ला र भारतबाट समेत उल्लेख्य सङ्ख्यामा पर्यटक आउने यो तालमा साना–ठूला गरी एक दर्जन बढी मोटरबोट सञ्चालनमा रहेका छन् ।

अधिकांश मानिस तालभित्र मोटरबोट चढ्नकै लागि आउने गरेका मोटरबोट सञ्चालन गरिरहेको बागमती इन्टरटेनमेन्ट प्रा.लि. का प्रमुख गौतम खड्काले जानकारी दिए ।