logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनकाे बगैंचामा नेपाल र भारतका सुरक्षा अधिकारीहरुकाे बैठक


  • उज्यालो अभियान

मलंगवा, ३० जेठ – सर्लाहीको हरिवनमा आज नेपाल र भारतका सुरक्षा अधिकारिबिच संयुक्त सीमा समन्वय बैठक सम्पन्न भएको छ ।

नेपालको सर्लाही, महोत्तरी र रौतहट तथा भारतको सीतामढी जिल्लाका पदाधिकारी र सम्वद्ध अधिकारीबिच बैठक बसेको हो । बैठकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसहित  सुरक्षा निकायका प्रमुख र तीनवटै जिल्लाका भन्सार कार्यालय प्रमुखको उपस्थिति रहेको थियो ।

भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्लाधिकारी रिची पाण्डेको नेतृत्वमा पुलिस अधिक्षक, भन्सार प्रमुख र एसएसबीका अधिकारी सहभागी भएका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत सुरेशप्रसाद दासले प्रेस विज्ञप्ती जारी गर्दै बैठकमा खुला सीमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण, लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान, अवैध मुद्राको कारोवार नियन्त्रणलगायतका विषयमा छलफल भएको जानकारी दिएका छन् ।

नेपाल र भारतका सुरक्षा अधिकारीबिच यसरी नियमितजसो संयुक्त सीमा समन्वय बैठक बस्ने गरेको छ । यस प्रकारको बैठक प्रायः नेपालतर्फ सदरमुकाम मलंगवा र भारतीय शहरमा बस्ने गरेकोमा यो पटक भने पूर्व पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका-९ नयाँराेडस्थित बगैंचा हाेटलकाे सभाहलमा बसेको हो ।