logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा महतो निर्विरोध निर्वाचित


  • उज्यालो अभियान

लालबन्दी, २६ जेठ – उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्षमा महेशकुमार महतो निर्विरोध निर्वाचित भएका छन् ।

संघको अध्यक्ष पदमा अरु कसैले उम्मेदवारी नदिएपछि एकल उम्मेदवारी परेकाले महतो निर्विरोध निर्वाचित भएका हुन् । लालबन्दी नगरपालिका–७, बजारमा रहेको महेश हार्डवेयरका संचालक महतो उद्योग वाणिज्य संघ लालबन्दीको सातौं अध्यक्ष बनेका छन् ।

निर्वाचन समितिले महतो अध्यक्षमा निर्वाचित भएको आधिकारिक रुपले घोषणा गर्न भने बाँकी नै छ । निर्वाचन समितिका संयोजक कल्याणकुमार जोशीले उम्मेदवारको दावी विरोध, उम्मेदवारी फिर्तासहितका प्रक्रिया पूरा गरेर आजै बेलुका निर्विरोध भएका उम्मेदवारको घोषणा गर्ने प्रयास गरिरहेको जानकारी दिए ।

उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको थियो । संघको अध्यक्षसहित अन्य पदाधिकारी र सदस्यमा समेत एकल उम्मेदवारी परेकाले सबै जना निर्विरोध नै निर्वाचित भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद देवकोटा, उपाध्यक्षमा (उद्योग तर्फ) बिशाल थापा, उपाध्यक्षमा (वाणिज्य तर्फ) राजकुमार चौधरी, महासचिवमा गोपालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा बिक्रम खड्का, उप–महासचिवमा सन्जित शंकर, सचिवमा कमलाकुमारी थापा र सह–सचिवमा सुधिरकुमार गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा देबकला कुमारी, ओमकुमारी थापा, रेबिका विश्वकर्मा, वर्षाकुमारी लामा, बिमलेश साह, दिलिपकुमार पाठक, पदमप्रसाद घिमिरे, कृष्ण बछार, आलोककुमार कुशवाहा, किरण घिमिरे, मनोज श्रेष्ठ र कृष्ण कुमार चयन भएका छन् ।

उद्योग वाणिज्य संघ लालबन्दीको १० औँ अधिवेशनसहितको साधारण सभाको शनिबार उद्घाटन भएको थियो ।

नयाँ कार्य समिति चयनमा सहमती जुट्न नसके असार ४ गते मतदान हुने गरी निर्वाचन तालिका प्रकाशित गरिएको थियो । तर पदाधिकारी तथा सदस्य पदमा एकल उम्मेदवारी परेसँगै अब मतदान नहुने भएको छ ।

व्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ लालबन्दीमा १७९ जना आजिवन सदस्य र ७४५ जना साधारण सदस्य रहेका निवर्तमान अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले बताए ।