लालबन्दी, २४ जेठ – उद्योग वाणिज्य संघ लालबन्दीको ७ औँ अधिवेशन आजबाट सुरु भएको छ ।
लालबन्दी ९ स्थित बस्तीपुरमा रहेको होटल आर्या इनमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न गरिएको अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकी मगरले जानकारी दिए । नयाँ नेतृत्व चुन्न आजैबाट अधिवेशन अन्तर्गत बन्दसत्र सुरु भइसकेको छ ।
बन्दसत्र अन्तर्गत उम्मेदवारी दर्ताको लागि पर्सी २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । सो दिन कुनै पदमा एक जनाको मात्रै उम्मेदवारी परे निर्विरोध निर्वाचित भएको घोषणा गरिने तर दुई वा दुई भन्दा बढी व्यक्तिको उम्मेदवारी परेको खण्डमा आगामी असार ४ गते मतदान हुने निर्वाचन समितिले जनायो ।
असार ४ गते हुने मतदानमा संस्थाका आजिवन सदस्य १७९ जना र साधारण सदस्य ६६४ जना गरी ८४३ जना मतदाता रहेका निर्वाचन समितिका संयोजक कल्याणकुमार जोशीले जानकारी दिए । उनका अनुसार पर्सी उम्मेदवारी दर्ता भएपछि उम्मेदवारी फिर्ता, प्रचारप्रसारलगायतका लागि समय छुट्याइएको छ ।
अधिवेशनको बन्दसत्र अघि वर्तमान अध्यक्ष बलाम्पाकीको अध्यक्षतामा सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीले उद्घाटन गरिन् ।
संघको १० औँ वार्षिक साधारण सभा एवं ७ औँ अधिवेशनमा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, महासंघकै केन्द्रीय सदस्य अमरेशचन्द्र बैदवार, अर्का केन्द्रीय सदस्य प्रयास कार्की, सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको विशिष्ठ आतिथ्यता रहेको थियो ।