हरिवन, २३ जेठ – सर्लाहीको हरिवन ८ मा रहेको महादेव जनता माध्यमिक विद्यालयमा आज विद्यालय कप्तान र उपकप्तान छनोटका लागि निर्वाचन सम्पन्न भएको छ ।
विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित यस निर्वाचनमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रमले विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रिया, निर्वाचनको महत्व र नेतृत्व छनोटको व्यावहारिक ज्ञान प्रदान गरेको विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले जानकारी दिए । उनले विद्यार्थीहरूमा नागरिक चेतना, जिम्मेवारी बोध र सहभागिताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
यसपटकको निर्वाचनमा विद्यालयका कुल ११ सय ४८ मतदातामध्ये ६८ प्रतिशत अर्थात् ७ सय ८१ जना विद्यार्थीहरूले आफ्नो मताधिकार प्रयोग गरेका थिए । निर्वाचनको आतिथ्यता र पर्यवेक्षणका लागि नगर प्रमुख रमेश बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल, शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहाल, शिक्षा अधिकृत रुस स्टालिन चौलागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार कार्की लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
निर्वाचनमा विभिन्न पदहरूमा उम्मेदवारहरूले आ–आफ्नो चुनाव चिह्नका साथ प्रतिस्पर्धा गरेका थिए । छात्र कप्तानमा आकाश थापा (लालटिन) १४७ मत प्राप्त गरी विजयी भए ।
छात्रा कप्तानमा कस्तुरी कुसवाहा (डल) २३९ मतका साथ विजयी भईन । छात्र भाइस कप्तानमा प्रज्वल लुइँटेल (रेडियो) ३१७ मत र छात्रा भाइस कप्तानमा सृष्टि थापा (किताब) ३७९ मतका साथ विजयी भएका छन् ।