पत्थरकोट, २२ जेठ – वर्षायाम सुरु भएसँगै सर्लाहीको ‘कर्णाली’ भनिने नारायणखोलामा यातायात संचालन गर्न समस्या हुन थालेको छ ।
लालबन्दी नगरपालिका–१४, नारायणखोला सडक संजालमा जोडिएको छैन् । लालबन्दी बजारदेखि लालबन्दी नगरपालिका–१३, पत्थरकोटसम्म सडक पुगे पनि त्यहाँबाट उत्तर लखन्देही र डाइनी खोलाको बाटो भएर नारायणखोलाका विभिन्न गाउँ, बस्ती जानुपर्ने बाध्यता छ ।
चुरेवर्ती क्षेत्रमा पर्ने नारायणखोलामा पानी पर्न सुरु भएर खोलामा बाढी आउन थालेसँगै अघिल्ला वर्षमा झैँ यातायात संचालनमा कठिनाई उत्पन्न भएको हो । मंगलबार राति भएको भारी वर्षापछि बाढी आएर खोलाको बाटो अत्यन्त खराब बनेको वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिए ।
बस व्यवसायी समेत रहेका वडाध्यक्ष घिसिङका अनुसार मंगलबार लालबन्दी बजारबाट यात्रु लिएर गएका बस हिजो खोलाको बाटोमा दर्जनौँ ठाउँमा फसेर लालबन्दी आइपुगेका छन् । सिन्धुलीको मरिणमा निर्माणाधीन विभिन्न योजनाका लागि लालबन्दीबाट इँटा बोकेर गएका टिपर समेत ठाउँठाउँमा फसेका छन् ।
नारायणखोलामा हिउँदका महिना खोलाको बगरबाट बस, बोलेरो, ट्याक्टरलगायतका सवारी साधन संचालन हुने गरे पनि वर्षायाम सुरु भएसँगै ठप्प हुने गरेको छ । वर्षायाममा स्थानीय वासिन्दा गाडी चल्ने ठाउँ पत्थरकोटसम्म आइपुग्न तीन÷चार घण्टा पैदल हिँड्ने गरेका छन् ।
पत्थरकोटको छेडादेखि मोटरदोभानसम्म चुरे पाखामा कच्ची ट्रयाक खनिए पनि वर्षायाममा बारम्बार बगाउने र ठाउँठाउँमा पुल निर्माण गर्न बाँकी रहेकाले गाडी संचालन हुन नसकेको वडाध्यक्ष घिसिङको भनाई छ ।
वर्षायाममा कुनै पनि सवारी साधन नचल्दा नारायणखोलाका स्थानीय बिरामी पर्दा तथा गर्भवतीलाई अस्पतालसम्म ल्याउनुपर्दा झोलुङ्गो वा स्टेचरको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । हिउँदमा खोलै खोला मोटरसाइकल सजिलै संचालन भए पनि पानी पर्न सुरु भएपछि मोटरसाइकल चलाउन पनि अफ्ठेरो पर्न थालेको स्थानीय भिमबहादुर पाख्रिनले बताए ।
वर्षायामभर लालबन्दी नगरपालिका–१५, शीर कालिन्जोर र ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा पनि यातायातका साधन ठप्प हुने गरेका छन् ।