लालबन्दी, १९ जेठ – मधेश प्रदेश सरकारको गौरव तथा बहुवर्षीय ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजन अन्तर्गत सर्लाहीमा विभिन्न आठ सडक कालोपत्रे हुने भएको छ ।
सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक÷एक वटा सडक स्तरोन्नति तथा कालोपत्रे हुने भएको हो । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ कार्यक्रम (दोस्रो) चरण अन्तर्गत सर्लाहीको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा चन्द्रनगर गाउँपालिकाको नाथुटोल–बडकुर्वा–कलाबती बजार हुँदै ईश्वरपुर नगरपालिकाको तीनघरियासम्मको सडक कालोपत्रे तथा नाला निर्माण हुने भएको छ ।
क्षेत्र नं. १ (ख) मा लालबन्दी नगरपालिका ११ बाहुनीदेखि ईश्वरपुर १२ कालिन्जोरसम्मको सडक कालोपत्रे गरिने भएको छ । बाहुनीदेखि कालिन्जोरसम्म चुरेको फेदी भएर कालोपत्रे सडक बनाइने भएको हो ।
यस खण्डमा अहिले कतै कालोपत्रे त कतै ग्राभेल गरिएको सडक छ । यस क्षेत्रका प्रदेशसभा सदस्य बेची लुङ्गेलीले यो वर्षको बजेटबाट बाहुनीदेखि बोहोरेडाँडा स्कुलसम्मको सडक कालोपत्रे हुने अवस्था रहेको जानकारी दिईन् ।
क्षेत्र नं. २ (क) मा हरिपूर्वा नगरपालिका ६ बजारचौक माविदेखि ईश्वरपुर नगरपालिका १५ सोकनाह हुँदै हरिपूर्वा नगरपालिका ९ मिर्चैयासम्मको सात किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । क्षेत्र नं. २ (ख) मा कविलासी नगरपालिका ९ भलुवाहादेखि मलङ्गवा नगरपालिका ११ पल्सी हुँदै मलङ्गवा नगरपालिका १० स्थित जिल्ला प्रशासन कार्यालय जाने सडक स्तरोन्नति गरिने भएको छ ।
सर्लाहीको प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ (क) मा हरिवनस्थित चिनी मिल हुँदै घुर्कौलीसम्मको सडक र क्षेत्र नं. ३ (ख) बसबरिया गाउँपािलका ६ सहोडवादेखि मनटोल हुँदै बरहथवा नगरपालिका ९ मुर्तियासम्मको सडक कालोपत्रे गर्ने उल्लेख छ । क्षेत्र नं. ४ (क) मा धनकौल छठीघाटदेखि महिनाथपुर नहर–मलघाट हुँदै धोबिनियाका भगिरथ महतोको घर नजिकसम्मको सडक र क्षेत्र नं. ४ (ख) मा गोडैता नगरापलिका २ मा रहेको जनता आधारभूत विद्यालयदेखि गोडैता नगरपालिका ३ सिमरा र पिपरनाथ हुँदै गोडैता नगरपालिका १ बहादुरपुरसम्मको सडक कालोपत्रे हुने भएको छ ।
मधेश सरकारले प्रदेशभरका प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा नौ अर्ब ६० करोड रुपियाँ खर्चिएर निर्माण गर्न लागेको कूल ३२० किलोमिटर कालोपत्रे सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रदेश राजधानी जनकपुरधाममा विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गरेका छन् ।
आफ्नो क्षेत्रमा सडक बन्ने कुराले स्थानीय हर्षित देखिएका छन् ।
पछिल्लो समय गाउँगाउँमा कालोपत्रे सडक पुगिरहेको अवस्थामा मधेश सरकारले थप आठवटा सडक निर्माण गर्ने भएपछि सर्लाहीमा कालोपत्रे सडक बढ्ने भएको छ ।