logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

टन्टलापुर घाम लागेर अत्यधिक गर्मी, जनजीवन प्रभावित


  • उज्यालो अभियान

मलंगवा, १६ जेठ – सर्लाहीसहित तराई क्षेत्रमा एक सातादेखि अत्यधिकरुपमा बढेको गर्मीले जनजीवन कष्टकर बनेको छ ।

यहाँ बिहान उज्यालो हुँदादेखि साँझसम्म नै एकटन्कारले टन्टलापुर घाम लागेर अत्यधिक गर्मी हुँदा जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण किसान, मजदुर र अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु सबैभन्दा बढी प्रभावित बनिरहेका छन् ।

मानिसहरु असिनपसिन भएर हिँड्डुल गरिरहेको देखिन्छ । विद्यालय जाने बालबालिका, शिक्षक, सरकारी अड्डा, अदालतमा सेवा लिन पुुग्ने सेवाग्राही र कर्मचारी समेत चर्को गर्मीको मारमा परिरहेका छन् । चर्को गर्मीसँगै विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अत्यधिक मात्रामा धुलो उड्दा सर्वसाधारण प्रभावित बनिरहेका छन् ।

दिनभरको टन्टलापुर घामले गर्दा राति समेत घर तातेर अत्यधिक गर्मी हुँदा तराई क्षेत्रका स्थानीय केही दिनदेखि राम्रोसँग निधाउन पाएका छैनन् । लामखुट्टे समेत अत्यधिक लाग्दा सर्वसाधारण झनै हैरान छन् ।

गर्मीका कारण धेरै मानिसमा अहिले टाउको दुख्ने, थकान महशुस हुने, चक्कर लाग्ने, झाडावान्ताजस्ता गर्मीजन्य स्वास्थ्य समस्या बढेको छ । चिकित्सकले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै शित्तल स्थानमा बस्न, प्रशस्त पानी पिउन, बेलाबेलामा जीवनजल पानी खान, अत्यावश्यक काम परेर बाहिर निस्कँदा छाताको प्रयोग गर्न, सुतीका शित्तल हुने कपडा लगाउन सुझाव दिएका छन् ।

यस क्षेत्रमा बेलाबेलामा मौसम धाम्मधुम्म समेत भइरहे पनि पानी पर्न सकेको छैन् । किसान तथा सर्वसाधारण आकाशे वर्षाको प्रतिक्षामा रहेका छन् ।