logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा पनि मनाइयो वटसावित्री पर्व


  • उज्यालो अभियान

वटसावित्री पर्वको अवसरमा लालबन्दीस्थित डुमडुमे मन्दिरको वरको रुखमा पूजा गर्दै गरेका महिला । (तस्बिर : रितिक यादव/उज्यालो अभियान)

लालबन्दी, १२ जेठ – सर्लाहीसहित मिथिलान्चलमा वटसावित्री अर्थात् वरसाइत पर्व आज मनाइएको छ ।

सर्लाहीमा २० वटै पालिकामा आज यो पर्व मनाइएको हाम्रा संवाददाताहरुले जनाएका छन् । लालबन्दीस्थित डुमडुमे मन्दिरसहितका विभिन्न धार्मिक स्थल तथा सार्वजनिक ठाउँहरुमा रहेका वरको रुखमा आज साँझ अबेरसम्म पनि पूजाआजा गर्ने महिलाको भीडभाड देखिन्थ्यो ।

विवाहित महिलाहरूले मनाउने यो पर्वका कारण वर भएको ठाउँमा बिहानैदेखि भीड लागेको थियो ।

यो पर्वमा महिलाहरू नयाँ सारी, ब्लाउज, लहठी, शृङ्गारका समानका साथै पूजाको सामग्री किन्ने गर्दछन् । वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वका रूपमा लिइने गरिन्छ ।

मिथिला संस्कृतिमा यो पर्व आदर्श नारित्वको प्रतीक बनेको छ । यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ । हिन्दू धर्ममा पीपलको बोट जस्तै वरको बोटको पनि उत्तिकै महत्त्व रहेको छ ।

वरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ । दार्शनिक दृष्टिबाट वरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकका रूपमा स्वीकार गरिएको छ ।