प्रतिकात्मक तस्बिर ।
बागमती, १० जेठ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङकी चोकमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बालुवा लोड गरेर बागमतीबाट हरिवनतर्फ आउँदै गरेको ना. ७ ख ६३९१ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको बा. ६६ प ८४६० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मलंगवा नगरपालिका–१०, का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको हो । मिकरानीलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनायो ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार मलंगवा नगरपालिका–१०, कै २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते भएका छन् । सुमितको एल एस न्यूरो अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले बताए ।