logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गाउँलेले हालिदिएको छानोबाट पानी चुहियो, विदेशमा सहयोग उठाउँदै युवा


  • उज्यालो अभियान

घारिबथान, १० जेठ – काभ्रेको धुलिखेलमा करेन्ट लागेर मृत्यु भएका उपेश परियार (उज्वल) को घरमा पानी चुहिन थालेपछि पीडित परिवार थप बिचल्लीमा परेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारिबथानका उज्वलको मृत्यु भएको दुुई दिनअघि जेठ १ गते अपरान्ह आएको हावाहुरीले घरमा जस्तापाताले छाएको छानो उडाएको थियो । छानो उडाएको भोलीपल्ट जेठ ३ गते धुलिखेलमा बिजुलीको पोलमा चढेर काम गरिरहँदा करेन्ट लागेर २८ वर्षका उज्वलको मृत्युु भएको थियो ।

ईश्वरपुर नगरपालिका १२ घारिबथानका उज्वलको मृत्युपछि जेठ ४ गते गाउँले र आफन्त मिलेर घरमा छानो हाल्ने काम गरेका थिए । गाउँलेले जसोतसो मर्मत गरेर बनाएको छानोबाट पानी चुहिँदा उज्वलको काजकिरियामा बसिरहेको परिवार थप समस्यामा परेको हो ।

उज्वलका बुवा केशव दमाई छोराको काजकिरियामा बसेका छन् । तत्कालै घरमा नयाँ छानो हाल्न सक्ने अवस्था नरहेकाले परिवारले पानी चुहिने घरमै बसेर उज्वलको काजकिरिया सक्ने तयारी गरेको गाउँलेले बताएका छन् ।

उज्वलको परिवारको नाजुक अवस्था देखेर आफूहरुको रातदिन मन पोलिरहेको छिमेकी दीपक खत्रीले उज्यालो अभियानसँग बताए । उज्वलको परिवारमा अशक्त भइसकेका बुवा, दृष्टिविहीन आमा, श्रीमती, आठ वर्षीया छोरी र पाँच वर्षका छोरा रहेका छन् ।

उज्वलको मृत्युपछि उहाँलाई धुलिखेलमा लगेर हाइटेन्सन लाइनको काममा लगाउने ठेकेदारले १० लाख रुपियाँ प्रदान गर्ने सहमती जनाएका छन् । सो सहमतीपछि उज्वलको शव धुलिखेलमै अन्त्येष्टि गरेर बुवा, श्रीमतीसहित अन्य व्यक्ति घर फर्किएका थिए ।

उज्वलको करेन्ट लागेर मृत्यु भएपछि नेपाल विद्युत् प्राधिकरणले प्रदान गर्ने राहत रकमबारे काजकिरियापछि प्रक्रिया अघि बढाउने परिवारको तयारी छ । उज्वलको मृत्युपछि सहारा नै गुमाएको परिवारमा घर समेत अत्यन्त जीर्ण हुँदा पीडा थपिएको आफन्त भैरव परियारले जानकारी दिए ।

अहिले आफन्त तथा छरछिमेकी मिलेर काजकिरिया सकाउने काममै लागेको उनले बताए । उज्वलको परिवारमा दयनीय अवस्था सिर्जना हुँदा समेत ईश्वरपुर नगरपालिका तथा अन्य निकायबाट कुनै साथ, सहयोग नमिलेको आफन्तले बताएका छन् ।

उज्वलको परिवारका लागि वैदेशिक रोजगारमा रहेका ईश्वरपुर १२ का तथा अन्य ठाउँका युवाले भने आर्थिक सहयोग जुटाउन सुरु गरेका छन् । मलेरियामा रहेका मृतक उज्वलका मामा राम परियारले पीडित परिवारका लागि वैदेशिक रोजगारमा भएकासँग सहयोग सङ्कलन गरिरहेको जानकारी दिए ।

केही रकम सङ्कलन गरेर पीडित परिवारलाई हस्तान्तरण गर्ने योजना रहेको परियारको भनाई छ ।