logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रानिगन्ज दुर्घटना : चार दिनपछि मृतकको अन्त्येष्टि


  • उज्यालो अभियान

लालबन्दी, १० जेठ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जमा बसको ठक्करबाट मृत्यु भएकी युवतीको चार दिनपछि अन्त्येष्टि गरिएको छ ।

पीडित परिवारलाई उचित राहतको माग गर्दै गाउँलेले हिजो दिउँसो रानिगन्जस्थित घिमिरे चोकमा ३ घण्टा चक्काजाम गरेका थिए । गएको सोमबार रानिगन्जको घिमिरे चोकमा बसले म्याजिकलाई ठक्कर दिँदा मृत्यु भएकी २२ वर्षीया सोना पन्तको परिवारलाई बसधनीले उचित राहत रकम प्रदान गर्नुपर्ने माग राख्दै स्थानीयले हिजो दिउँसो तीन घण्टा राजमार्ग ठप्प पारेका हुन् ।

राहत रकमको सम्वन्धमा बस व्यवसायीको सङ्घसँग सहमती भएपछि स्थानीयले चक्काजाम रोकेसँगै मृतकको परिवार सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पुुगेर शव बुुझेका हुन् । परिवारले शव बुुझेसँगै हिजै बेलुका बागमतीमा लगेर मृतक युवतीको अन्त्येष्टि गरिएको लालबन्दी १७ का वडा सदस्य रामबहादुर बम्जन तामाङले जानकारी दिए ।

सोमबार अपरान्ह रानिगन्जको घिमिरे चोकमा पूर्व पश्चिम राजमार्ग विस्तार गर्न डाइभर्सन बनाएको ठाउँमा यात्रु ओरालेर भाडा उठाइरहेका बेला ना. १ ज २६४५ नम्वरको म्याजिकलाई विराटनगरबाट सर्लाही सदरमुकाम मलंगवाका लागि छुटेको ना. ६ ख ७२२७ नम्वरको बसले ठक्कर दिँदा म्याजिक भाडा तिर्दै गरेकी पन्तको मृत्यु भएको थियो ।

वडा सदस्य बम्जनका अनुसार पन्तको परिवार भर्खरै मात्र धादिङबाट बसाईसराई गरेर रानिगन्जको गैरीगाउँ आएको हो । भारतमा बस्ने सोनाका बुवा, आमा अस्ती बिहीबार मात्रै रानिगन्ज आइपुुगेका छन् ।

बुवा, आमा भारतबाट आउन ढिला भएकाले प्रादेशिक अस्पताल मलंगवामा राखिएको मृतकको शव पोष्टमार्टमका ढिलाइ भएको प्रहरीले जनाएको छ । सोमबारको उक्त दुर्घटनामा अन्य आठ जना घाइते भएका थिए ।

म्याजिक चालकसहित पाँच जना यात्रुको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए । उनका अनुसार एक जना घाइते काठमाडौं रेफर भएका छन् भने दुई जना डिस्चार्ज भइसकेका छन् ।

म्याजिकलाई ठक्कर दिने बस चालकलाई दुर्घटनाको दिनदेखि नै हिरासतमा राखी कानूनी कारवाही अघि बढाइएको प्रहरी निरीक्षक जोहारीले उज्यालो अभियानसँग बताएका छन् ।