लालबन्दी, ०९ जेठ – पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जका स्थानीयले दुई घण्टादेखि पूर्व पश्चिम राजमार्ग ठप्प पारिरहेका छन् ।
गएको सोमबार रानिगन्जको घिमिरे चोकमा बसले म्याजिकलाई ठक्कर दिँदा मृत्यु भएकी स्थानीय २२ वर्षीया सोना पन्तको परिवारलाई यातायात व्यवसायीले उचित राहत रकम प्रदान गर्नुपर्ने माग राख्दै स्थानीयले आज दिउँसो पौने २ बजेदेखि राजमार्गमा चक्काजाम गरिरहेका हुन् । चक्काजामका कारण पूर्व पश्चिम राजमार्गमा सवारी साधनको लामो जाम लागेको छ ।
प्रहरी पुुगेर आन्दोलित स्थानीयलाई दुुई घण्टादेखि नै सम्झाइबुुझाई गरे पनि चक्काजाम भने खुल्न सकेको छैन् ।

सोमबार अपरान्ह रानिगन्जको घिमिरे चोकमा पूर्व पश्चिम राजमार्ग विस्तार गर्न डाइभर्सन बनाएको ठाउँमा यात्रु ओरालेर भाडा उठाइरहेका बेला ना. १ ज २६४५ नम्वरको म्याजिकलाई विराटनगरबाट सर्लाही सदरमुकाम मलङ्गवाका लागि छुटेको ना. ६ ख ७२२७ नम्वरको बसले ठक्कर दिँदा ओर्लन लाग्दै गरेकी युवती पन्तको मृत्यु भएको थियो । स्थानीय वासिन्दाले आज पन्तको मृत्यु भएको स्थानमै भेला भएर “हामीलाई न्याय देऊ” लेखिएको ब्यानरसहित चक्काजाम गरिरहेका हुन् ।

मृत्यु भएको चार दिन भइसक्दा समेत पन्तको शव प्रादेशिक अस्पताल मलंगवामा नै रहेको छ । मृतकको परिवारले बस व्यवसायीसँग उचित राहत रकमको माग गर्दै पन्तको शव बुुझ्न अस्वीकार गरिरहेका छन् ।
दुर्घटनामा पन्तको मृत्यु र म्याजिकमा सवार अन्य नौ जना यात्रु घाइते भएका थिए । घाइते अधिकांश डिस्चार्ज भएर घर गइसकेका छन् ।
प्रहरीले दुर्घटनामा परेको बस र म्याजिक तथा त्यसका चालकलाई नियन्त्रणमा लिएर कानूनी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।