बागमती, ०७ जेठ – सर्लाहीको बागमती नगरपालिका २ जिरायतमा हिजो अपरान्ह भएको मोटरसाइकल दुर्घटनाका घाइते दुई महिलाको वीरगन्जमा उपचार जारी छ ।
हिजो अपरान्ह ४ बजेतिर प्रदेश–३–०२–००६ प ७८६८ र बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल जुध्दा दुवै मोटरसाइकलका चालकको ज्यान गएको थियो । दुर्घटनामा दुुई जना महिला गम्भीर घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) किशोर तामाङका अनुसार घाइते भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साहको वीरगन्जस्थित एक निजी अस्पतालमा उपचार चलिरहेको छ ।
प्रहरीका अनुसार अस्पतालबाट आज बिहान प्राप्त जानकारी अनुसार घाइते दुवैको अवस्था खतरामुक्त नै रहेको छ । घाइते महिलाहरु बा. ६५ प ५२६ नम्वरको मोटरसाइकलमा सवार थिए ।
दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश–३–०२–००६ प ७८६८ नम्वरको मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका २३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले दुवै मोटरसाइकलका चालकलाई घटनास्थलबाट उठाएर चन्द्रनिगाहपुर अस्पताल रौतहट पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै चालकको शव सोही अस्पतालमा नै रहेको हरिवनका इन्स्पेक्टर तामाङले बताए । उनले दुवै मृतकको आफन्त आएपछि शवको पोष्टमार्टम हुने जानकारी दिए ।
प्रहरीका अनुसार तीन जना सवार मोटरसाइकलमा भरत ताल घुमेर फर्किदै गरेकाहरु चढेका र बियर कम्पनिमा कार्यरत विवेक मानन्धर बरहथवामा मार्केटिङको काम गरेर हेटौंडातर्फ फर्कदै गर्दा दुर्घटना भएको हो ।
पिच सडकमा तीव्र गतिका कारण मोटरसाइकल आपसमा ठोक्किएका प्रत्यक्षदर्शीको भनाई छ ।