logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आउन थाल्यो खोलाबाढी, बगरबाट हिँड्न पनि समस्या


  • उज्यालो अभियान

चुरेको दुर्गम क्षेत्रमा पर्ने नारायणखोलामा ट्याक्टरबाट खाद्यान्न ढुवानी गरिँदै । (तस्बीर : उज्यालो अभियान)

पत्थरकोट, ०७ जेठ – पानी पर्न सुरु भएसँगै सर्लाहीको चुरेवर्ती विकट क्षेत्रमा खोलाको बाटोबाट आउजाउ गर्न समस्या पर्न थालेको छ ।

बाढी आएर खोलाको बाटो बिगार्न थालेपछि चुरेवर्ती क्षेत्रमा आवतजावतका लागि समस्या पर्न थालेको हो । चुरेवर्ती क्षेत्रमा पर्ने लालबन्दी नगरपालिकाको वडा नम्बर १४ सडक सन्जालमा जोडिएको छैन् ।

लालबन्दीसहित ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका चुरेवर्ती अन्य वडाका केही ठाउँमा सडक पुुगेको छैन् । खोलाको बगर र चुरेपाखाको गोरेटो बाटोबाट आउजाउ गर्नुपर्ने बाध्यता रहेको छ ।

लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष सुवाईसिंह ब्लोनले यसैगरी पानी परिरहे खोलाको बाटो बन्द हुने अवस्था रहेको जानकारी दिए । लालबन्दी बजारबाट लालबन्दी नगरपालिका–१३, पत्थरकोटसम्म सडक पुुगेको भए पनि त्यहाँबाट उत्तर नारायणखोलातर्फ जान लखन्देही खोलाको बगर भएर जानुपर्ने बाध्यता रहेको छ ।

नारायणखोलासहित चुरेवर्ती पिपलदमार, शीर कालिन्जोरलगायतका क्षेत्रमा अहिले खोलाको बगरबाट बोलेरो, बसलगायतका साधनले लालबन्दी बजारसम्म यात्रु ल्याउने, लैजाने गरिरहेका छन् । खोलाबाटै भए पनि सञ्चालन भइरहेका सवारी साधनमा बजारसम्म आएर किनमेल र औषधि उपचार गर्न पाएका चुुरेवर्ती क्षेत्रका स्थानीय लगातार पानी पर्न थालेसँगै खोलाको बाटो बन्द हुने चिन्तामा पर्न थालेका छन् ।

वर्षायाम सुरु भएसँगै चुरेपाखामा स्थानीय वासिन्दा पैदल हिँड्ने बाटो समेत खराब बनेको छ । बागमती नगरपालिका १ का वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले लगातार पानी पर्दा चुरेडाँडाका बाटाघाटमा पानी परेर बाटो बगाउने समस्या सुरु भएको बताए ।

चुरेका कच्ची सडकमा मोटरसाइकल र ट्याक्टर मुस्किलले चल्ने गरे पनि पानी पर्न सुरु भएपछि बाटो खराब भएर समस्या परेको जानकारी दिनुुभयो । बाटो खराब हुँदा चुरेडाँडाका विभिन्न बस्तीबाट चुरेफेदीका विद्यालयका अध्ययन गर्न आउने विद्यार्थीले सास्ती पाएका छन् ।