logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

डाइनी खोलाबाट ११२ केजी गाँजासहित एक जना पक्राउ


  • उज्यालो अभियान

लालबन्दी, ०६ जेठ – सर्लाहीको विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, डाइनी खोलाबाट ११२ केजी ७८ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चुरेभेगमा पर्ने डाइनी खोलाबाट सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङलाई अन्यत्र निकासका लागि प्लाष्टिकमा प्याक गरेर तयार पारिएको गाँजासहित पक्राउ गरेको हो । लालबन्दी प्रहरीले आज अपरान्ह कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।

लागुुऔषध गाँजाको कारोवार भइरहेको सूचना पाएर गएराति १० बजे प्रहरी टोली नारायणखोलास्थित डाइनी खोला पुुगेको थियो । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बीआर ३२ ए एन ०८१७ नम्वरको भारतीय स्कारपियो र लु. २२ प ३८९४ नम्वरको पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रहरी टोली पुुग्दा गाँजा ओसारपसारमा संलग्न रहेका अन्य व्यक्ति भने फरार हुन सफल भएका छन् । प्रहरीले पक्राउ गर्न सफल भएको सोमबहादुरलाई आज सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिका सम्वन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

भौगोलिकरुपमा विकट लालबन्दी नगरपालिका १४ नारायणखोलाको चुरेपाखामा अन्य बाली राम्रो नउब्जिने भन्दै स्थानीयले व्यावसायिकरुपमा प्रतिवन्धित लागुऔषध गाँजाको खेती गर्दै आइरहेका छन् ।