logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दीबाट अवलोकनमा गएकाहरु चढेको गाडी मकवानपुरमा दुर्घटना, १४ घाइते


  • उज्यालो अभियान

लालबन्दी, ०६ जेठ – सर्लाहीको लालबन्दीबाट मकवानपुरको चित्लाङमा अवलोकनका लागि पुुगेकाहरु चढेको गाडी आज दिउँसो दुर्घटनामा परेको छ ।

लालबन्दी नगरपालिकाको लघु उद्यम विकास शाखाबाट अन्तर जिल्ला भ्रमणमा लगिएकाहरु चढेको गाडी त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका–९ छैसठ्ठी मोडमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मकवानपुरको थाहा नगरपालिकाको चित्लाङबाट लालबन्दीतर्फ फर्कदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नं. को विङ्गर भ्यान सडकबाट तल खसेको थियो । २० मिटर तल खसेर गाडी सल्लाको रुखमा अडिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घाइते यात्रुलाई भैंसे र पालुङका प्रहरी र स्थानीयवासीले उद्धार गरेर उपचारका निम्ति हेटौंडातर्फ ल्याइरहेका छन् ।

अवलोकनमा रहेका लालबन्दी नगरपालिका १६ परवानीपुरका पदम श्रेष्ठले घाइतेहरुलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको टेलिफोनबाट उज्यालो अभियानलाई जानकारी दिए ।

गाडी बेक्र फेल भएका कारण दुर्घटना भएको प्रहरी टोलीले जनाएको छ । भ्रमणमा लालबन्दी नगरपालिकाका कर्मचारी र विभिन्न वडाका महिलाहरु रहेका छन् ।