रानिगन्ज, ०६ जेठ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १७ रानिगन्जमा हिजो बस र म्याजिक ठोक्किएर भएको दुर्घटनाका ६ जना घाइतेको उपचार चलिरहेको छ ।
रानिगन्जस्थित घिमिरे चोकमा पूर्व पश्चिम राजमार्ग विस्तार भइरहेकाले डाइभर्सनबाट गाडी पास गराइएको ठाउँमा हिजो अपरान्ह बस र म्याजिक ठोक्किँदा १ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । घाइतेमध्ये ६ जनाको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
घाइते ईश्वरपुर नगरपालिका ७ पोखरीटोल बस्ने ६५ वर्षीया शान्ति देवी राम, ईश्वरपुर ४ सागरनाथ बस्ने ५६ वर्षीया फूलकुमारी घलान, ईश्वरपुर ६ बस्ने १८ वर्षीय अंकित महतो, ईश्वरपुर ६ कै १९ वर्षीय राजकिशोर महतो, राजकिशोरकै गाउँका ५४ वर्षीय रविनाथ महतो र लालबन्दी नगरपालिका १ का २१ वर्षीय विजय तामाङ उपचाररत् रहेका प्रहरीले जनाएको हो । दुर्घटनामा सामान्य घाइते भएका ईश्वरपुर नगरपालिका ४ की ४५ वर्षीया बबिता श्रेष्ठ र सोही ठाउँकी २२ वर्षीया अमिसा श्रेष्ठ सामान्य उपचारपछि हिजै डिस्चार्ज भएका थिए ।
दुर्घटनामा लालबन्दी १७ रानिगन्जकै २२ वर्षीया सोना पन्तको घटनास्थलै मृत्यु भएको थियो । सोनाको शव पोष्टमार्टमका लागि गएराति प्रादेशिक अस्पताल मलंगवामा लगेर राखिएको छ ।
हिजो अपरान्ह पौने ५ बजेतिर लालबन्दी बजारबाट यात्रु बोकेर फूलजोरतर्फ गइरहेको ना. १ ज २६४५ नम्वरको म्याजिक घिमिरे चोकमा रोकेर यात्रुसँग भाडा उठाइरहेका बेला विराटनगरबाट मलंगवाका लागि छुटेर आइरहेको ना.१ ख ७२२७ नम्वरको बसले अगाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुुभयो ।
हाइवे विस्तारका क्रममा अहिले जिल्ला विभिन्न ठाउँमा दायाँबायाँको डाइभर्सनबाट सवारी चलाउनुपर्दा एकले अर्कोसँग ठक्करखानेक्रम र अन्य दुर्घटना हुनेक्रम बढेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।