logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

दुई सातादेखि पुल बन्द, मर्मतमा बेवास्ता


  • उज्यालो अभियान

जब्दी, ०६ जेठ – सर्लाहीको जब्दीस्थित फूलजोर खोलाको पुलबाट आवतजावत बन्द गरेको दुई साता भइसक्दा पनि मर्मतको काम अघि बढ्न सकेको छैन् ।

लालबन्दी नगरपालिका ३ जब्दी र ईश्वरपुर नगरपालिका ८ रामपुरको सीमामा पर्ने फूलजोर पुलको दक्षिणतर्फ पुलमा जोडिने सडक (एपरोच रोड) मा ठूलो भ्वाङ पर्दा बैशाख २४ गतेदेखि पुलबाट आवतजावत बन्द गरिएको थियो । पुल बन्द भएदेखि सवारी साधन तल खोलाबाट सञ्चालन भइरहेका छन् ।

निर्माण व्यवसायीले पुलमा ल्याएर ढुुङ्गा थुपारेको दुुई साता भइसक्दा पनि मर्मतको काम अघि नबढ्दा खोलाबाट साइकल, मोटरसाइकल, टेम्पुजस्ता साना सवारी वारपार गर्नै मुस्किल परिरहेको स्थानीयले गुनासो गरेका छन् । पुल बन्द भएदेखि किसानले तरकारी बोकेर ल्याउने र व्यापारीले सरसामग्री लोड गरेर हाँकेको मोटरसाइकल खोलाको बालुवामा चिप्लिएर बारम्बार पल्टने र भास्सिने गरेका छन् ।

ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्यामबहादुर थापाले खोलाबाट सवारी साधन वारपार गर्न असाध्य समस्या परिरहेको बताए । निर्माण व्यवसायीलाई मर्मतको काम तत्काल अघि बढाउन दिनहुँ सम्पर्क गरे पनि आलटाल गर्दै आइरहेका वडाध्यक्ष थापाको गुनासो छ ।

वडाध्यक्ष थापाका अनुसार निर्माण व्यवसायीले शुक्रबारदेखि काम सुरु गर्ने बताउँदै आएकोमा अहिलेसम्म काम सुरु नभएपछि फोन गर्दा आगामी भाखा सारिरहेका छन् ।“पुल मर्मतको कामका लागि आज÷भोली भन्दाभन्दै ठेकेदारले दस दिन बिताइसकेका छन् तर काम सुरु नै भएको छैन्” वडाध्यक्ष थापाले भने,“ठेकेदारको बेइमानीका कारण हामी जनप्रतिनिधिले असाध्य तनाव खेप्नु परिरहेको छ ।”

खोलामा बाढी आए डाइभर्सन समेत बन्द हुने अवस्था रहेको स्थानीयले बताएका छन् । लालबन्दी नगरपालिका ३ जब्दीका अजयकुमार चौधरीले पुल बनेपछि खुसी भएको आफूहरु पुललाई जोड्ने सडकमा भने बारम्बार भ्वाङ परेर यसरी आउजाउ बन्द भइरहँदा असाध्य दुःख पाइरहेको गुनासो गरेका छन् ।

फूलजोर खोलाको पुलमा रामपुर र जब्दी दुवैतर्फको भागमा पहुँच सडक (एपरोच रोड) मर्मत गर्ने ठेक्का गढिमाई–रिया निर्माण सेवा रौतहटले प्राप्त गरेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमारलाल कर्णले निर्माण व्यवसायीलाई फूलजोर पुलको पहुँच सडक निर्माणमा निरन्तर ताकेता गरे पनि काम अघि नबढाएको बताए ।

पुलको पहुँच सडकमा तार जाली भर्ने र माटो भर्ने काम गरेर कालोपत्रे गर्नुपर्ने अवस्था रहेको सिनियर डिभिजनल इन्जिनियर कर्णले जानकारी दिए । “पुल त कमप्लिट रुपमा बनिसकेकाले केही समस्या छैन तर पहुँच सडक नबन्दा समस्या परिरहेको हो,” सि.डि.इ. कर्णले भने, “ठेकेदारले काम नगरिदिँदा हामीलाई पनि सारै गाह्रो परिसक्यो ।”

निर्माण व्यवसायीले निर्माण सामग्री नपाउँदा काम अघि बढाउन ढिलाई भएको बहानाबाजी गरिरहेका सडक डिभिजन कार्यालयका प्रमुख कर्णको भनाई छ । पप्पु शिवशङ्कर जेभीले तीन वर्षअघि नै निर्माण गरेको फूलजोर खोलाको पुल अहिलेसम्म हस्तान्तरण समेत हुन सकेको छैन् ।