logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नक्कली नोटसहित दुई युवक पक्राउ


  • उज्यालो अभियान

मलंगवा, ०६ जेठ – सर्लाही प्रहरीले सीमावर्ती क्षेत्रबाट नक्कटी नोटसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ६ बस्ने २१ वर्षीय मुकेशकुमार साह र हरिपूर्वा नगरपालिका ४ डुमरियाका २३ वर्षीय सरोज पण्डित रहेका छन् । उनीहरुलाई सीमावर्ती पर्सा गाउँपालिका ६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।

हुलाकी सडकमा बीआर ३० एपी ७५३९ नम्वरको मोटरसाइकल चलाएर हिँडिरहेका उनीहरुलाई रोकेर खानतलासी लिँदा चालक मुकेशकुमार साहको साथबाट नेपाली ५०० दरका ४८ थान अर्थात् २४ हजार नक्कली नेपाली रुपियाँ बरामद भएको डिएसपी राईले बताए ।

चालक साहको साथबाट नक्कली नोट बरामद भएपछि पछाडि सवार सरोज पण्डितलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लगेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाहीमा पछिल्लो समय नक्कली नोटसहित मानिस पक्राउ पर्नेक्रम बढेको छ ।